डोटीका भूकम्प पीडितको त्रिपालमुनि बास, तत्काल पुनर्निर्माणको कुनै टुङ्गो छैन ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोटीका भूकम्प पीडितको त्रिपालमुनि बास, तत्काल पुनर्निर्माणको कुनै टुङ्गो छैन !


११ मंसिर २०७९, आइतबार


डोटी । डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँका भूकम्प पीडितहरू भूकम्प गएको तिन साता बित्दा पनि त्रिपालमुनि बाँस बस्न बाध्य रहेका छन् । 

तत्कालको लागि राहत र अस्थायी बसाई व्यवस्थापनको लागि स्थानीय सरकार विभिन्न सङ्घ संस्थाहरूले खाद्यान्न, त्रिपाल लुगा कपडा भाडाकुडाको व्यवस्थापन गरेपनी हाल सम्म अस्थायी टहरा र स्थायी पुनर्निर्माण लागि भने कुनै टुङ्गो लागेको छैन । 

स्थायी पुनर्निर्माण लागि प्रदेश सरकार, सङ्घीय सरकार र विभिन्न निकायहरूसँग समन्वय भइरहेको भए पनि कसले बनाउँछ भन्ने विषयमा हाल सम्म कुनै टुङ्गो नलागेको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । स्थलगत अनुगमनको लागि यसै साता भित्र  प्राधिकरणकाको टोली आउने जानकारी छ आउँछ/आउँदैन अहिले नै भन्न सकिदैन् अध्यक्ष उपाध्यायले बताए । 

भूकम्प प्रभावितहरूका लागि पुर्बिचौकी गाउँपालिकाले अस्थायी टहरा निमार्ण गर्ने गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले बताए । 

गाउँपालिका अन्तर्गतका सयौँ घरपरिवार भूकम्पबाट प्रभावित छन्, हिउँदको चिसो समय सुरु भइसकेको छ त्यसैले तत्कालको लागि पालिकाले अस्थायी टहरा निमार्णको लागि पहल गर्ने बताए । 

पुर्बिचौकी गाउँपालिका अन्तर्गत १ हजार ११ घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने त्यस्तै १ सय २० घर भत्केका, ३ हजार ३७ घरधुरी पूर्ण रूपमा विस्थापित भएका समेत अध्यक्ष उपाध्यायले बताए । 

पूर्ण रूपमा भत्केका व्यक्तिहरूको घर पुनर्निर्माण गर्नका लागि प्राधिकरण, प्रदेश सरकार, सङ्घीय सरकार, विभिन्न गैरसरकारी सङ्घ संस्थाहरू सँग पनि समन्वय र सहकार्य भइरहेको समेत अध्यक्ष उपाध्यायले बताए । गाउँपालिकाले पहिलो चरणमा १ सय २० वटा अस्थायी टहरा पुस महिना भित्र निमार्ण गर्ने लक्ष्य रहेको समेत बताए । 

भूकम्प पीडित भन्छन् घर निमार्ण गरी दिए हुन्थ्यो !

पुर्बिचौकी गाउँपालिका ३ गैरागाउँका भूकम्प पीडितहरूले आवास निमार्ण गरिदिन सबैलाई आग्रह गरेका छन् । 

भूकम्पमा परि तिन परिवार गुमाएका पदम सिंह बोहराले पनि आवास पहिलो आवश्यकता भएको बताए । उनले भने हाम्रा आवश्यकता धेरै छन्, मसँग केही छैन, लुगाकपडा, खाद्यान्न त विभिन्न सङ्घ संस्था पालिकाले दिइरहेको छ तर त्यो भन्दा पनि मुख्य आवश्यकता भनेको बस्नको लागि घर हो, न परिवार छ, न घर छ, बेवारिसे जस्तै जिन्दगी, पिडा नै पिडामा बाचेको छु । कात्तिक २२ गते गएको भूकम्पमा पदमले एक श्रीमती, एक छोरा र एक छोरी गुमाएका थिए । हाल उनी सँग ६६ वर्षकी आमा र ११ वर्षकी छोरी मात्र छन् । 

उनी मात्र होइनन् अर्का भूकम्प पीडित सोही गाउँकी वर्ष ६४ की भगु देवी बोहराको पनि उही आवश्यकता छ, घर निमार्ण । उनी भन्छिन् ‘त्रिपालको बास छ, चिसो समय सुरु भइसक्यो, मरिन्छ की बाचिन्छ, थाहा छैन, अन्नपात नभए अरू गाउँले आफन्तहरू सँग सापट गर्न सकियो घरै छैन के गर्नु कहाँ जानु ।’ आँखा भरी आशु झार्दै उनी भन्छिन् ‘भूकम्पमा म पनि गइदिएको भए आराम हुन्थ्यो यस्ता दुःख भोग्नु भन्दा । उनी मात्र होईन्न् त्रिपालमुनि बास बसेका सबै भूकम्प पीडितको चिन्ता के खाऊ केलाऊ भन्दा पनि हिउँदको चिसो कसरी छिचोल्ने मात्र छ ।’ त्यसैले भूकम्प पीडितहरूले सरोकारवाला निकायलाई छिटोभन्दा छिटो पुनर्निर्माणको लागि पहल गरिदिन आग्रह गरेका छन् । 

गृह र प्राधिकरणको प्राविधिक टोली डोटी आउँदै !

गृह मन्त्रालय र राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोली यसै साता डोटी आउने राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रबत्ता डा. डिजन भट्टराईले बताएका छन् । 

उनले भने ‘प्राधिकरणको टोली पहिलेनै डोटी आउने भनेको तर प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यहरूको निर्वाचनको कारणले गर्दा केही ढिलाइ भएको हो सम्भवतः टोली भोलि नै डोटीको लागि हिन्छ ।’ प्राविधिक टोलीले स्थलगत निरीक्षण पश्चात् मात्र के कति घरमा क्षति पुगेको छ, सम्पूर्ण रूपमा अध्ययन गरी, स्टेटमेन्ट तयार गरी के कति नयाँ घर निमार्ण गर्नुपर्ने अनि योजना र आवश्यक बजेट व्यवस्थापन पछि मात्र कहिले सम्म पुनर्निर्माण गर्न सकिन्छ भन्न सकिने बताए । 

डोटीमा गएको भूकम्पले डोटी लगायत बझाङमा पनि क्षति भएकोले टोली सबै ठाउँमा जाँदा, रिपोट तयार गर्दा १,२ महिना समय लाग्ने र त्यसपछि स्थायी पुनर्निर्माणको लागि पहल गरिने बताए ।  अस्थायी आवास निमार्णको लागि जिल्ला प्रशासन मार्फत तत्कालै प्रति घरपरिवारलाई ५० हजारका दरले सहयोग गर्न सकिने समेत प्र बत्ता भट्टराईले बताए । 

२०७९कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ मा दर्जनौँ घर भत्किनुका साथै ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । उक्त क्षेत्रमा अहिले विभिन्न दातृ निकाय, गैरसरकारी सङ्घ संस्थाहरूले विभिन्न प्रकारको सहयोग गर्दै आइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस