काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् ।
पौडेलले काँग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका हुन् । पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई भेटेका थिए ।
काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भने पौडेलको निवास बोहराटार गएर उनलाई भेटेका थिए । यसैबीच पौडेलले माधव नेपाल र प्रचण्डसँग टेलिफोन संवाद भएको बताए । उनीहरूसँगको छलफलमा पौडेलले भावी प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
प्रधानमन्त्रीमा नयाँ अनुहार आउँदा जनतामा आशा जागृत गराउन सकिन्छ भन्ने विषयमा सबै सकारात्मक रहेको पौडेलले बताए । ‘
काँग्रेसमा भावी प्रधानमन्त्रीका लागि सभापति देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, शशाङ्क कोइराला, शेखर कोइराला लगायत प्रधानमन्त्रीका आकाङ्क्षी देखिएका छन् । गठबन्धन र काँग्रेसका सांसदलाई आफ्नो पक्षमा उभ्याउन काँग्रेस नेताहरूको कसरत जारी छ ।
प्रधानमन्त्रीका लागि काँग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुपर्ने भएकाले काँग्रेसमा सांसदको हिसाब किताब चलिरहेको छ । काँग्रेसले पत्यक्षमा अहिलेसम्म ५३ सिट जितेको छ भने ३ सिटमा अग्रता लिएको छ ।
काँग्रेसका उम्मेदवार रहेका स्याङ्जा २ र बाजुरामा मतगणना सुरु हुन भएको छैन । काँग्रेसले समानुपातिकमा करिब ३३ जना सांसद जित्ने देखिन्छ । उनीहरूले काँग्रेसमा संसदीय दलको नेता चुन्ने छन् । सोही व्यक्ति काँग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने छ । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलका हैसियतले काँग्रेसले नै नेतृत्व गर्नेमा विवाद नरहेका काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए ।