‘काठमाडौँमा कृषियोग्य जमिन छैन’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘काठमाडौँमा कृषियोग्य जमिन छैन’


९ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरभित्र कृषियोग्य जमिन नभेटिएको रिपोर्ट भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई बुझाएको छ।

महानगरले बिहीबार मन्त्रालयलाई यस्तो रिपोर्ट बुझाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बताए। उनका अनुसार कृषियोग्य जमिन भनी सिफारिस गर्न सरकारले बनाएको निर्देशिका अनुसार महानगरमा कृषियोग्य जग्गा भेटिएन।

महानगरको रिपोर्टपछि महानगरभित्र कित्ताकाट खुला हुने भएको छ। आफ्नो पालिकाभित्र रहेको जग्गा वर्गीकरण गर्न महानगरले यसअघि भू-उपयोग परिषद् गठन गरेको थियो। भू-उपयोग परिषद्को सिफारिसमा महानगरले कृषियोग्य जमिन नभएको रिपोर्ट मन्त्रालयलाई बुझाएको हो।

भू-उपयोग नियमावली २०७९ मा भू-उपयोग परिषद्को अध्यक्ष पालिका प्रमुख हुने व्यवस्था छ। महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई परिषद्को सदस्य सचिवको जिम्मेवारी तोकिएको छ।

परिषद्का सदस्य-सचिव तथा प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार महानगरभित्र रहेका ३२ वटै वडाले आफ्नो वडाभित्र कृषियोग्य जमिन नरहेको रिपोर्ट बुझाएका थिए। उक्त रिपोर्ट महानगरले गठन गरेको भू-उपयोग कार्यान्वयन समितिमा पेस गरिएको थियो। कार्यान्वयन समितिले भू-उपयोग परिषद्मा सो रिपोर्ट पेस गर्‍यो।

परिषद्को बुधबार बसेको बैठकले कार्यान्वयन समितिको सिफारिसलाई अनुमोदन गरेको थियो। यसअघि गत कात्तिक २ गते ३२ वटै वडामा जग्गा वर्गीकरणका लागि सिफारिस गर्न छुट्टाछुट्टै समिति गठन गरिएको थियो। वडा अध्यक्षले अध्यक्षता गरेको उक्त समितिमा वडा सदस्यलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस