प्रधानमन्त्रीसहित शीर्ष नेताले यी मतदान केन्द्रबाट गर्दैछन् मतदान ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीसहित शीर्ष नेताले यी मतदान केन्द्रबाट गर्दैछन् मतदान !


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराको गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका-१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । 

गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा-८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्नेछन् । उनी रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन् । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्नेछन् ।

अध्यक्ष प्रचण्ड आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेका उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनले भरतपुर महानगरपालिका-१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका-२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका-९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्नेछन् ।

यस्तै, लोकतान्तिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका-१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी-३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् । 

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर-१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । उनी सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । 

त्यसैगरी, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । काँग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ-३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका-९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् ।

काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ-१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नेछन् । काँग्रेस नेता शेखर कोइरालाले विराटनगर-७ को आर्दश विद्यालयमा मतदान गर्नेछन् ।   

जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै छन् । उनी सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । श्रेष्ठ काठमाडौं क्षेत्र नं ७ का उम्मेदवार हुन् ।

जसपाका प्रवक्ता मनिस सुमनले राजविराज-३ स्थित केएएमबी माविबाट मतदान गर्दै छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर-२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन् । महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका-८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ-५ स्थित टोखा-६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै छन् । 

यस्तै, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल-८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै छन् । एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर-१९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्नेछन् । 

संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम-७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन् । एमाले नेता रामबहादुर थापाले भरतपुर-१० नारायणी नमूना माविमा मतदान गर्नेछन् । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क-९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्नेछन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका-७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस