४ महिला अधिकृतको जिम्मामा हुम्लाका मतदान केन्द्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

४ महिला अधिकृतको जिम्मामा हुम्लाका मतदान केन्द्र


३ मंसिर २०७९, शनिबार


सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चार वटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ ।

जिल्लामा ५८ मतदान स्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको जनाइएको हो ।

जिल्लामा रहेका सिमकोट गाउँपालिका–५ मा रहेको भीमसेन आधारभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका–३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा सरिता बोहरा गरी चार महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।

त्यस्तै आठ महिलालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलालाई जिल्लामा यस पटकको चुनावमा प्राथमिकतामा राखेर निर्वाचनमा खटाइएको हो । गत वैशाखमा भएको स्थानीय चुनावमा भन्दा यस पटकको निर्वाचनमा महिला कर्मचारी बढी खटाइएको छ ।

स्थानीय चुनावमा जिल्लामा ४४ महिला मात्र खटिएका थिए । यस पटकको चुनावमा ७६ महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको हो ।

जिल्लाका प्रत्येक मतदान केन्द्रमा एक वा दुई जना महिला खटाइएको छ । यहाँ निर्वाचनका लागि साढे चार सय कर्मचारी खटिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस