डोटीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना, मतदान अधिकृत घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डोटीमा निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना, मतदान अधिकृत घाइते


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ। मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना भएको छ ।

डोटीको बडीकेदार गाउँपालिका-५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी र सामग्री बोकेको बा २ झ २२३५ नं. को जीप अत्तरकाडाँ भन्ने ठाउँ नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।

डिएसपी भट्टका अनुसार मार्कोट मतदान केन्द्र (क) का मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडक आयोजना कार्यालय विपिनगरका इन्जिनियर हुन् ।

भट्टले तीनवटा मतपेटिका समेत चर्केको जानकारी दिए । 

मतदान अधिकृत रैखोलाले आफ्नो कम्मरमा चोट लागेका कारण मतदान गराउन नसक्ने भनेकाले उनको ठाउँमा अर्को व्यक्ति पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलवहाहदुर मलासीले जानकारी दिए ।

उनले रैखोलाको ठाउँमा जगेडामा रहेका लोकवहादुर साहुँलाई मतदान अधिकृत बनाएर खटाइएको बताए ।

मार्कोट स्वास्थ्य चौकीमा (क) र (ख) गरी दुई मतदान केन्द्र रहेका छन् । (क) केन्द्रमा पाँच सय ६० र (ख) केन्द्रमा पाँच सय ९२ मतदाता रहेका छन् । (ख) केन्द्रको मतदान अधिकृतमा स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत उत्तमराज उपाध्याय रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस