ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक सङ्घर्षशील उम्मेदवार हो : प्रचण्ड « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक सङ्घर्षशील उम्मेदवार हो : प्रचण्ड


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख ओनसरी घर्ती प्रधानमन्त्री बन्न लायक रहेको टिप्पणी गरेका छन्। 

काठमाडौँ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार घर्तीलाई आफूले सानैदेखि चिनेको र उनमा प्रधानमन्त्री बन्ने दृढता रहेको अध्यक्ष दाहालको भनाइ थियो । 

आज (बिहीवार) काठमाडौँमा आयोजित चुनावी सभामा बोल्दै उनले मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्ने समेत बताए । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाए । 

उनले भने, ‘ओनसरी घर्ती महिला प्रधानमन्त्री बन्न लायक सङ्घर्षशील महिला हो । त्यस कारण यस क्षेत्रका लागि एक ऐतिहासिक अवसर नै आएको छ । हाम्रो गठबन्धन संविधानको रक्षाको निम्ति, स्थिरता र विकासको निम्ति हो । अर्को पनि एउटा गठबन्धन छ । केपी ओलीको नेतृत्वमा । तर उनीहरू गठबन्धन भन्दैनन् । उनीहरू राजावादी छन् । राजतन्त्र फर्काउने कुरा गर्छन् । संविधान मिच्ने र च्यात्ने कुरा गर्छन् । अनि फेरि भोट माग्न जनताकोमा आउँछन् ।’

अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा प्रतिगमनलाई परास्त गर्न सकिए देश विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारूढ दलहरू प्रतिगामी शक्तिहरूलाई परास्त गरेर सबै शक्तिको साथ देशको समृद्धिको अभियानमा लाग्न प्रतिबद्ध रहेको पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस