सरकारका खातामा करिब २ खर्ब नगद मौज्दात « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सरकारका खातामा करिब २ खर्ब नगद मौज्दात


३० कार्तिक २०७९, बुधबार


काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९-८० को पहिलो तीन महिनासम्म सरकारको खातामा १ खर्ब ९५ अर्ब ६२ करोड रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार राष्ट्र बैङ्कमा रहेको नेपाल सरकारका विभिन्न खातामा सो रकम बराबरको मौज्दात रहेको छ । २०७९ असार मसान्तसम्म ती खातामा २ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ मौज्दात रहेको थियो ।

यसबीचमा प्रदेश सरकारहरूले ३४ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्रोत प्राप्ति गरेका छन् । उनीहरूको खर्च भने २० अर्ब ९९ करोड रुपैयाँ मात्र रहेको छ । प्राप्त गरेको स्रोतमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत २३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १० अर्ब ६४ करोड प्राप्त गरेका छन् ।

संघीय सरकारले तीन महिनासम्म २७८ अर्ब १७ करोड रुपैयाँ खर्च गरेको छ । यसमा चालु खर्च २२३ अर्ब ७५ करोड, पुँजीगत खर्च १९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा सरकारले राजस्वबाट २०८ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसमध्ये १८९ अर्ब ३८ करोड कर र १९ अर्ब २० करोड सङ्कलन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस