गगन प्रधानमन्त्री बन्न सक्षम र तयार छन् : अर्थविद् डा. वाग्ले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गगन प्रधानमन्त्री बन्न सक्षम र तयार छन् : अर्थविद् डा. वाग्ले


२६ कार्तिक २०७९, शनिबार


काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा सक्रिय वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पटकपटक दोहोर्‍याए।

शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ को एक कार्यक्रममा उनले थापालाई प्रधानमन्त्री बनाउन जिताएर पठाउन स्थानीय मतदातालाई आह्वान गरे। अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसार विज्ञहरुको टिम रहेको उल्लेख गरे।

थापालाई अघि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्षभित्र मुलुकमा ठूलो परिवर्तन आउने वाग्लेको विश्वास छ। थापाले सात महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई विमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको बताए।

अब पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो। उनले भने, ‘उनी (गगन) रेडी छन्, उनी तयार छन् । उनी क्वालिफाईड छन् । यो कुरा उनले छोटो समयमा म योजना आयोगको सदस्य, उपाध्यक्ष हुँदाखेरी यो मुलुकलाई युनिफाईड हेल्थ सिस्टममा कसरी बाँध्न सकिन्छ भन्नेबारे यति गहिरो होमवर्क गरे। उनले बनाएको माष्टरप्लानमै मुलुक हिँडिरहेको छ।’

अर्थविद् वाग्लेले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउनसक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्नेसमेत औंल्याएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस