गुल्मीका ४१ मतदान केन्द्रको नेतृत्व गर्दै महिला, साढे १३ सय महिला कर्मचारी परिचालन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गुल्मीका ४१ मतदान केन्द्रको नेतृत्व गर्दै महिला, साढे १३ सय महिला कर्मचारी परिचालन 


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । गुल्मीमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा ४१ मतदान केन्द्रको नेतृत्व महिलाले गर्ने भएका छन्।

जिल्लामा परिचालन हुने आठ सय ८९ जना महिला कर्मचारीमध्ये ४१ जना मतदान अधिकृत महिला छन्। गुल्मी १ मा २९ जना मतदान अधिकृत र अन्य कर्मचारी चार सय ४५ गरेर चार सय ७४ जना महिला छन्। 

त्यस्तै, गुल्मी २ मा १२ जना मतदान अधिकृत र अन्य कर्मचारी चार सय तीनजना गरेर चार सय १५ जना महिला छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीका अनुसार क्षेत्र नम्बर १ मा एक हजार एक सय ९९ र क्षेत्र नम्बर २ मा एक हजार २७ शिक्षक तथा कर्मचारी परिचालन गरिएको छ। 

म्यादी प्रहरीका तीन सय २८, नेपाल प्रहरीका एक सयभन्दा बढी र सशस्त्रका ३३ गरेर करिब पाँच सय महिला सुरक्षाकर्मी पनि निर्वाचनमा परिचालन हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए। जिल्लामा करिब तीन हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन हुने पौडेलले बताए। 

यस्तै गुल्मीका दुई मतदान केन्द्र महिलामैत्री बन्ने भएका छन्। जिल्लाको क्षेत्र नम्बर १ को सिद्धबाबा मावि मतदान केन्द्र (क) र क्षेत्र नम्बर २ को महेन्द्र मावि मतदान केन्द्र (ख) मा मतदान अधिकृतदेखि सुरक्षाकर्मी र स्वयंसेवक पनि महिला नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ। 

क्षेत्र नम्बर १ को सिद्धबाबा मावि मतदान केन्द्र (क)मा मतदान अधिकृत जिल्ला प्रशासन कार्यालय गुल्मीकी प्रशासकीय अधिकृत ज्ञानकुमारी भुसाल छिन्। उनीसहित सबै जनशक्ति महिला हुने योजना बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिए।

सिद्धबाबा (क) मा सात सय ८४ मतदाता छन्। त्यस्तै, महेन्द्र मावि मतदान केन्द्र (ख) मा मतदान अधिकृत कर कार्यालयको कर अधिकृत जमुना गिरी छिन्। उनीसहित सबै जनशक्ति महिला खटाइने निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत अमरबहादुर केसीले जानकारी दिए। 

महेन्द्र मावि (ख)मा सात सय दुईजना मतदाता रहेका छन्। एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित आठजना कर्मचारी हुन्छन् भने तीनजना स्वयंसेवक निर्वाचन अधिकृतले राख्ने व्यवस्था रहेको छ । गुल्मी क्षेत्र नम्बर १ मा २९ र क्षेत्र नम्बर २ मा १२ जना मतदान अधिकृत महिला रहेका छन्।

यस्तै मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले केही सिर्जनात्मक कामका लागि दुई मतदान केन्द्रलाई महिलामैत्री बनाउन थालिएको बताए। उनले कुनै बाध्यकारी व्यवस्था नभई सिर्जनात्मक कामसँगै नयाँ सन्देश मात्रै दिन खोजिएको पौडेलले बताए। 

यस्तै महेन्द्र मावि मतदान केन्द्र ९ख० मा मतदान अधिकृत कर कार्यालयकी कर अधिकृत जमुना गिरीले आफ्नो लागि फरक अनुभव नभएको बताइन्।

उनले पहिलोपटक मतदान अधिकृतको रूपमा गत स्थानीय तहको निर्वाचनमा उपल्लो तम्घास मावि मतदान केन्द्र ९क० मा काम गरेकी थिइन् । त्यसवेला पनि गिरीको मतदान केन्द्रमा सबै कर्मचारी महिला रहेका थिए। 

सबै कुरा कानुनसम्मत हुने भएकाले महिलाहरूकै बीचमा काम गर्दा थप उत्साह हुने गिरीले प्रतिक्रिया दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस