सुदूरपश्चिममा एमालेले १० सिट जित्छ : लेखराज भट्ट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा एमालेले १० सिट जित्छ : लेखराज भट्ट


२५ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेले १० सिट जित्ने बताएका छन्। प्रतिनिधि सभामा १६ निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा १० सिटमा जितेर नेकपा एमाले पहिलो पार्टी हुने उनको भनाई छ।

पत्रकार सँगको भेटमा भट्टले यही प्रदेशको दार्चुलामा रहेको कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको भू-भाग समेटिएको चुच्चे नक्सा बनाएको र उक्त भू-भाग फिर्ता ल्याउन पनि एमालेको सरकार आवश्यक भएकाले यस प्रदेशका जनता प्रति एमाले आभार रहेको बताए।

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशलाई विशेष महत्त्व दिएर चुनावी प्रचार प्रसार अभियान पनि दार्चुलाबाट शुरु गरेको उनको भनाई छ। कात्तिक १८ गते दार्चुला पुगेर प्रचार प्रसार अभियान शुरु गरेका नेकपा एमालेका अध्यक्ष केपी ओली शनिवार पुन सुदूरपश्चिम आउन लागेका छन्। सोमवार ओलीले दिपायल, कैलालीको निर्वाचन क्षेत्र ४ रहेको अत्तरिया र कैलाली निर्वाचन क्षेत्र २ रहेको लम्कीमा चुनावी शभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए। कैलाली निर्वाचन क्षेत्र ४ मा भट्ट चुनावी मैदानमा छन्।

अर्बौँका संरचना बनाएर पनि गेटा मेडिकल सञ्चालन गर्न ढिलाइ भइरहेकोले मंसिर ४ पछि एमाले सरकार बनेमा गेटा मेडिकल विश्वविद्यालय स्थापना गर्ने आफ्नो पार्टीको मुख्य ऐजेण्डा रहेको भट्टले बताए।

सुदूरपश्चिम प्रदेशमा ५ वर्षमा ५० हजारलाई रोजगारी दिने नेकपा प्रतिबद्धता एमालेको रहेको उनले बताए। 

२० ग्योरेन्टी सहितको घोषणापत्र जारी गरेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशमा पनि छुट्टै २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

वि.सं. २०७४ मा सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले ११ निर्वाचन क्षेत्रमा जित हात पारेको थियो भने माओवादी केन्द्रले ३ निर्वाचन क्षेत्रमा जितेको थियो। नेपाली काँग्रेसले १ निर्वाचन क्षेत्रमा मात्र जितेको थियो। डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवाले चुनाव जितेका थिए। यसैगरि कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका रेशमलाल चौधरीले जितेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस