गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरा पालन « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरा पालन


२३ कार्तिक २०७९, बुधबार


नवलपुर । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर बिदेसिनेहरूका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक स्वदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् ।

जिल्लाका विभिन्न क्षेत्रमा युवाहरूले स्थानीय जातका (लोकल) तथा ब्वायलर कुखुरा पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् । 

गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउछन् । एक हजार पाँच सय स्थानीय जातका कुखुरा पालेका आचार्यले मासिकरुपमा खर्च कटाएर ६० हजार बचत हुने बताए । ‘परिवारसँगै रमाएर आफ्नै गाउँमा बसेर काम गर्नुको मज्जा नै छुट्टै छ’, आचार्यले भने, ‘बिदेसिनेहरू सबैको राम्रो भएको पनि कहाँ छ र ? तर म यहीँ खुसी छु, रमाएर काम गरिरहेको छु ।’

कुखुराका लागि आवश्यक पर्ने दाना आफैँ उत्पादन गर्ने आचार्यलाई कुखुरा पालनमा उनकी श्रीमती र परिवारको साथ मिलेको छ ।

कुखुरा पालनमा लागेर पाँच जनाको परिवार सहजै पालिएको आचार्य बताउँछन् । ‘कुखुरा पालन गर्ने समयमा केही गाह्रो भएको थियो बिस्तारै परिवारको साथ र अनुभवले कामलाई सहज बनायो र आम्दानी बढायो’, आचार्यले भने, ‘कुनै पनि काममा निरन्तरता दिँदै र मेहनत गरेमा सफलता मिल्ने रहेछ ।’ 

यहाँ लामो समय वैदेशिक रोजगारमा गएका स्थानीय पनि फर्किएर कुखुरा पालन व्यवसायमा लागेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारमा दुबई बसेका मध्यविन्दु–३ ब्रह्मस्थानका नन्दे गुरुङ अहिले गाउँमै स्वरोजगार बनेका छन् । दुई वर्षअघि दुबईबाट फर्किएर गुरुङ व्यावसायिक रूपमा कुखुरा, बाख्रा र बङ्गुर पालन सुरु गर्दै स्वरोजगार बनेका छन् । 

दुबईमा रहँदा मासिक एक लाखभन्दा बढी कमाई गर्ने उनी स्वदशमै केही गर्ने चाहना बोकेर गाउँ फर्किएको बताउँछन् । ‘दुबईमा मेरो आम्दानी राम्रो थियो, ओभर टाइम गरेर त महिनामै एक लाखभन्दा बढी पैसा कमाउने गरेको थिएँ’, गुरुङले भने, ‘अहिले घरमै बसेर आफ्नै काम गर्दा पनि राम्रो कमाई भइरहेको छ ।’ उमेरले ५२ वसन्त पार गरेका  गुरुङ घर फर्किएपछि विदेश जान मन नलागेको बताउँछन् ।

‘यहीँ बसेर काम गर्दा घरपरिवारको हेरविचार गर्दै आफ्नै पेसाबाट राम्रो कमाई हुने भएपछि फेरि विदेश जान मन लागेन’, गुरुङले भने, ‘लकडाउनको समयमा कुखुरा पालन व्यवसाय सुरु गर्दै कृषि कर्ममा होमिएँ, अहिले बाख्रा र बङ्गुर पनि थपेको छु ।’ पशुपन्छी पालनका लागि आफ्नै जग्गा प्रशस्त भएका कारण पनि उनलाई विदेश जान मन नलागेको अनुभव उनी सुनाउछन् । ‘विदेश गएर अर्काको काम गरेर लाख कमाउनभन्दा आफ्नै घरमा परिवारसँग बसेर स्वरोजगार बन्नु ठूलो रहेछ’, गुरुङले भने, ‘विदेश गएर अर्काको ठाउँमा मेहनत गर्नुभन्दा स्वदेशमै पसिना बगाउँदा सुन फलाउन सकिन्छ जस्तो लाग्दैछ ।’ 

नन्दे गुरुङकै २५ वर्षीय छोरा उत्तम गुरुङ दुई वर्ष दुबई बसेर गाउँमै फर्किए । अरूको देशमा काम गर्नुभन्दा घरमै बसेर केही गर्ने बाबुछोराको सल्लाह भएपछि आफू पहिले गाउँ फर्किएको उत्तमको भनाइ छ । ‘अर्काको देशमा अरूले भनेकोअनुसार काम गर्नुपर्छ, केही काम बिग्रियो भने तबल पनि काट्छ अझै भएन भनेर गालीसमेत खानुपर्छ’, उत्तमले भने, ‘यहाँ हामी आफैँले फार्म सञ्चालन गरेका छौँ, बाबा र म मिलेर काम गर्छौं, धेरै सजिलो छ ।’ घरमा आएर सुरु गरेको व्यवसायबाट आफूहरू सन्तुष्ट रहेको उत्तमको भनाइ छ । 

‘सुरुमा हामीले एउटा ठूलो खोर बनाएर पाँच सय ब्वायलर कुखुरा पाल्न सुरु गरेका थियौँ’, उनले भने, ‘अहिले दुई खोरमा गरी एक हजार पाँच सय जति ब्वायलर कुखुरा पालेका छौँ । कुखुरासँगसँगै बाख्रा र बङ्गुर पनि थपेका छौँ ।’ बाबुछोराले पालैपालो कुखुरा, बाख्रा र बङ्गुरको हेरचाह गर्ने गरेको उत्तमको भनाइ छ । आफ्नो फार्ममा उत्पादन भएका पशुपन्छी बिक्रीका लागि बजारको समस्या नरहेको उनीहरू बताउँछन् ।

‘हामीलाई बजारको कुनै समस्या छैन’, उनले भने, ‘कुखुरा, खसीबोका तथा बङ्गुर खरिदका लागि व्यापारी घरमै आउने गरेका छन् ।’ पछिल्लो समय कुखुरालाई खुवाउने दाना महँगिएका कारण केही अप्ठ्यारो भएको गुरुङले गुनासो गरे । उत्पादन लागत बढेअनुसार बिक्री मूल्य नपाउँदा भने लगानी उठाउनै मुस्किल हुने गरेको गुरुङले दुःखेसो पोखे ।  

जिल्लामा व्यवसाय दर्ता गरेर कुखुरा पालन गर्ने कृषकको सङ्ख्या बढ्दै गइरहेको छ । थोरै समय र मेहनतबाट पनि राम्रो आम्दानी हुँदा कृषक कुखुरा पालन व्यवसायमा उत्साहित भएका छन् । सरकारले दिँदै आएको अनुदान असली व्यवसायीलाई दिन सकेको खण्डमा युवाहरूको बिदेसिने क्रम घट्ने व्यवसायी बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस