सुर्मा गाउँपालिकाका तत्कालीन नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सुर्मा गाउँपालिकाका तत्कालीन नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालीन नायब सुब्बा शिवराज उपाध्यायले गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५५ भदौ २५ गते सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ ।

यस अवधिमा उनको तलब भत्तालगायत शीर्षकबाट वैध आम्दानी ४८ लाख ९११ रुपैयाँ आम्दानी हुनुपर्नेमा उनको जग्गा खरिद, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवा ब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैङ्क मौज्दातसमेत गरी १ करोड ५७ लाख ५ हजार १३४ रुपैयाँ देखिएको अख्तियारको भनाइ छ । समग्रमा करिब एक करोड १० लाख रुपैयाँको स्रोत नखुलेको अख्तियारका प्रवक्ता श्यामकृष्ण भण्डारीले जानकारी दिए ।

अख्तियारले शिवराजसँगै उनकी पत्नी जयादेवी उपाध्यायविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नायब सुब्बा उपाध्यायले गैर कानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नीको नाममा जग्गा खरिद, घर निर्माण तथा बैङ्क खाताहरूमा बचत गरेको पाइएको अख्तियारले जनाएकाे छ।

Tags :
प्रतिक्रिया दिनुहोस