बेलबारी गोल्डकप : सशस्त्र प्रहरी बल फाइनलमा, धनकुटासँग सिरहा भिड्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बेलबारी गोल्डकप : सशस्त्र प्रहरी बल फाइनलमा, धनकुटासँग सिरहा भिड्दै


२२ कार्तिक २०७९, मंगलबार


सुन्दरहरैँचा । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) फाइनल यात्रामा पुग्न सफल भएको छ ।

मोरङको लक्ष्मीमार्गमा जारी पाँचौँ संस्करणको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम एपिएफसँग सोमबार २-१ गोलअन्तरको हार व्यहोर्नु पर्दा आयोजक उपाधि नजिक पुग्न नसकेको हो । घरेलु मैदानमा आयोजकलाई रोक्दै साविक विजेता एपिएफले भने प्रतियोगिताको फाइनलमा आफूलाई सुरक्षित गरेको छ ।

घरेलु मैदानमा आयोजकको यात्रामा बाधक बनेको एपिएफले दुवै गोल मध्यान्तरपछि मात्रै गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । मध्यान्तरपछि आकर्षक प्रदर्शन गरेको एपिएफ अन्ततः आयोजकलाई पछि पार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।

कप्तान टोप विष्ट र नवीन लामाले गरेको गोल एपिएफलाई जितका लागि पर्याप्त बन्यो । आशिम राईले फर्काएको सान्त्वना गोल आयोजकलाई फाइनलयात्रा तय गर्न अपुग भयो । अन्ततः रोचक तथा सङ्घर्षपूर्ण खेलको ४९औँ मिनेटमा टोप विष्टको गोलमार्फत एपिएफले अग्रता लिएको थियो ।

खेलको ६५औँ मिनेटमा नवीन लामाले अर्को गोल थपेपछि एपिएफको जित निश्चित भएको हो । सेन्टरबाट पाएको पासमा अघि बढेका उनले विपक्षी खेलाडीलाई बिट गर्दै बललाई पोस्टको दिशा दिँदा आयोजक हार स्वीकार गर्नुपर्ने बाध्यतामा पुग्यो ।

आयोजकका काशिम राईले खेलको ७२औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए । उनले गरेको प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एपिएफका गोलरक्षक राजु नगरकोटी असफल बने । अन्ततः आयोजक डाँगीहाटको फाइनलयात्रामा पूर्णविराम लाग्यो । नगरकोटीबाट रिबाउण्ड भएको बलमा समेत विक्रम धिमाल असफल हुनु आयोजकका लागि दुर्भाग्यपूर्ण बन्यो । त्यसबाहेक गोल गर्ने अरू अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु मैदानमा नतिजा विपक्षीलाई सुम्पिन आयोजक बाध्य भयो ।

पहिलो सेमिफाइनल खेलको म्यान अफ दी म्याच एपिएफका कप्तान टोप विष्ट घोषित भए । उनले पुरस्कारवापत रु पाँच हजार र ट्रफी प्राप्त गरे । कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।

गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा आज राजारानी र सहलेस सिराहाबीच प्रतिस्पर्धा हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस