हट्यो चोभार सबस्टेसन निर्माणको अवरोध  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हट्यो चोभार सबस्टेसन निर्माणको अवरोध 


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । कीर्तिपुर नगरपालिका-६ स्थित चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । 

नेपाल विद्युत् प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेल मैदानको रूपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए ।

मन्त्रिपरिषद्को १७ माघ २०७८ को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्राधिकरणले सर्भे, माटो परीक्षण, डिजाइन जस्ता निर्माण पूर्वका प्रारम्भिक कार्यहरू सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्रस्ट पार्दै आएको थियो ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ ।

चोभारस्थित सुख्खा बन्दरगाहको प्रवेशद्वारबाट सुरु भएको करिब २ किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकोले स्थानीयको माग बमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गरिदिने सहमति भएको छ ।

प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउने छ । विद्युत् आपूर्तिको अत्यावश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ । बैठकमा नगर प्रमुख नकर्मीले विकास निर्माणका कामहरूमा नगरपालिकाको सधैँ सहयोग गर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकोले जाँडै निर्माण सुरु गर्ने बताए ।

काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा सुधार गर्न महत्त्वपूर्ण मानिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन् ।

स्थानीयको अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रूपमा चोभारमा सबस्टेसन निर्माण अगाडि बढाएको हो । थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ ।

एसियाली विकास बैङ्कको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरू रहने छन् ।

काठमाडौँ उपत्यकाको सन् २०३० सम्ममा ९२५ मेगावाट, २०४० सम्ममा १८२५ मेगावाट र २०५० सम्ममा ३१६९ मेगावाट उच्चतम माग हुने प्रक्षेपणका आधारमा प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचनाहरू योजनाबद्ध रूपमा अगाडि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस