कालापानी, लिपुलेक कूटनीतिक पहलबाटै फिर्ता हुन्छ, ढुक्क हुनुहोस् : देउवा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कालापानी, लिपुलेक कूटनीतिक पहलबाटै फिर्ता हुन्छ, ढुक्क हुनुहोस् : देउवा


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कूटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्। बिहीबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन्।  

चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापानी र लिपुलेक क्षेत्रलाई लडेर नभई कूटनीतिक पहल गरेर फिर्ता लिन सकिने बताए। 

नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए। ‘नेपाल छिमेकी देश भारत र चीनसँग समान सम्बन्ध राख्दछ र राख्दै आएको पनि छ,’ उनले भने,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कूटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस्।’  

चुनावी सभालाई सम्बोधन गर्दै देउवाले डडेल्धुराको विकासका लागि आफूले धेरै काम गरेको पनि बताए। 

डडेल्धुराको सबै गाउँ बस्तीमा सडक र बिजुली पनि पुर्‍याउने उनले प्रतिबद्धता व्यक्त गरे। उनले अब निर्वाचन पछि डडेल्धुराको बजार क्षेत्रको सडक चौडा कार्यका लागि मुआब्जाको काम पनि गरिने बताए। परशुराम, परिगाउँ, महाकाली नदीमा पुलको पहल भएको पनि उनले बताए। रेंगुन खोलामा तटबन्धन तथा सिँचाइको योजना पनि अघि बढाइएको बताए।  

प्रधानमन्त्री देउवा चुनावी कार्यक्रमका लागि बुधबार राजधानी काठमाडौँबाट धनगढी आएका थिए भने बिहीबार मात्रै आफ्नो गृह जिल्ला डडेल्धुरा पुगेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस