शाखा अधिकृत, शिक्षक कर्मचारीसहित एकै दिन ९ जनासँग स्पष्टीकरण माग  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शाखा अधिकृत, शिक्षक कर्मचारीसहित एकै दिन ९ जनासँग स्पष्टीकरण माग 


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा आज मङ्गलवार एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ ।

आयोगले लाभको पदमा रहेका, चुनावका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेग्ला-बेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए।

निर्वाचन आचारसंहिता २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ । आयोगमा अहिलेसम्म एक सय ५० वटा उजुरी परेकोमा झन्डै ६० वटा स्पष्टीकरण सोधिएको छ ।

आयोगले राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीलाई आफ्नो पदीय दायित्वसमेत ख्याल नगरी लगातार निर्वाचनसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्ने विषयमा निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण सोधेको छ ।

यस्तै आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । सप्तरीको प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको भनी उजुरी परेको सन्दर्भमा आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजु आचार्यलाई आफू बहाल रहेको पालिकामा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा स्पष्टीकरण मागेको छ । आचार्यलाई आफ्नो पदीय दायित्वसमेत ख्याल नगरी लगातार चुनावसम्बन्धी दलका बैठक, कार्यक्रम र भेलालगायतमा सहभागी भएको भन्नेसमेत ब्यहोराको उजुरी आयोगमा प्राप्त भएकाले निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय पर्वतमा प्राप्त हुने गरी स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा त्यसका पदाधिकारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने तर स्थानीय कार्यपालिकाका पदाधिकारी आफू बहाल रहेको पालिका बाहेक अन्य पालिकामा सम्बन्धित राजनीतिक दलको चुनाव प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछ भन्ने व्यवस्थाप्रति स्मरण गराउँदै आयोगले गाउँपालिकाको अध्यक्ष रहेको गाउँपालिकाभित्र राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने देखिएको पत्रमा उल्लेख छ ।

यस्तै आयोगले पर्वतको कुस्मा नगरपालिका-९ का अध्यक्ष राम शर्मा लामिछानेलाई आफू बहाल रहेको पालिकामा राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा पनि स्पष्टीकरण मागेको छ ।

आयोगले नेपाली काँग्रेसको तर्फबाट पर्वतका प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पर्वतको पञ्चकोसी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको विषयमा स्पष्टीकरण सोधेको छ । कुस्मा नगरपालिका-१४ आर्थरमा रहेको विद्यालयमा केही दिन पहिले तरुण दलको नामबाट विद्यार्थीलाई कपी कलम वितरण गरेर अभिभावकलाई प्रभावित गर्न कोसिस गरेको भन्नेसमेत ब्यहोराको लिखित उजुरी आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (न) मा ‘कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ । आचारसंहिताको दफा १३ को खण्ड (झ) मा ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ । उल्लेखित कानुनी व्यवस्थाअनुसार जोशीबाट भएको भनिएको विद्यालयमा कपी कलम वितरण गर्ने कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको आयोगको पत्रमा उल्लेख छ ।

यस्तै आयोगले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारीलाई राजनीतिक संलग्नताका विषयमा स्पष्टीकरण सोधेको छ । आयोगले शिक्षक तिवारीलाई नेपाली काँग्रेसको नवलपुर क्षेत्र नं २ (२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र अहिले नेपाली काँग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको प्रतिनिधिको रूपमा सहभागी भइरहेकाले आचारसंहिताअनुसारको कारबाहीका लागि आयोगमा उजुरी प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

यस्तै आयोगले पर्वतको नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदीलाई राजनीतिक दलको सभा, बैठकमा सहभागी भएको र गुल्मीको महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालय, प्रधानाध्यापक अनन्तलाल भण्डारीलाई नेकपा (एकीकृत समाजवादी) को लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको भन्ने विषयमा स्पष्टीकरण सोधिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस