पैसा र चामल बाँडेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पैसा र चामल बाँडेको भन्दै आयोगले सोध्यो स्पष्टीकरण


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लङ्घन गरेको भन्दै दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो ।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको बताए ।

श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियो लगायत प्रमाण सहित नेपाली काँग्रेस म्याग्दीका उपसभापति समेत रहेका कर्णबहादुर भण्डारी (केवी)ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

निर्वाचन आचार संहिता लागु भइसकेपछि श्रेष्ठले युवा क्लबलाई १० हजार रुपैयाँ चन्दा दिएको रसिदको फोटोकपी सहित उजुरी परेको छ ।

श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित बनाउन मालिका गाउँपालिका-३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ । चामल वितरण गरेको विषयमा सञ्चार माध्यमहरूमा समाचार समेत सार्वजनिक भएको थियो ।

पहिलो पटक आचार संहिता उल्लङ्घनको उजुरी परेपछि अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइन ?, के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको जनाइएको छ । 

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि वस्तु वितरण गर्न पाइँदैन । मतदाता प्रभावित बनाउन खोज्ने उम्मेदवार र दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेर उम्मेदवारी खारेज गर्ने सम्मको कारबाही गर्न सक्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस