खेतमै पुगेर भोट माग्दै उम्मेदवार, दिन्छन् यस्ता आश्वासन !  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

खेतमै पुगेर भोट माग्दै उम्मेदवार, दिन्छन् यस्ता आश्वासन ! 


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । कर्णाली प्रदेशका कृषकलाई यति बेला धानबाली भित्र्याउन र जोतखनको चटारो छ । उम्मेदवार पनि खेतमै पुगेर भोट माग्न थालेका छन् ।

अहिले कर्णालीका विभिन्न जिल्लामा उम्मेदवार खेतबारीमा पुगेर कृषकसँग भोट माग्दै गरेका दृश्य देखिन्छ । धान भित्र्याउने कामले दिनभर खेतबारीमा रहने कृषकसँग भेटघाट, परिचय र भोट माग्न उम्मेदवार खेतबारीमै पुग्ने गरेका हुन् । उम्मेदवार खेतबारीमै पुगेर भोट माग्नुपर्ने बाध्यताजस्तै बनेको छ ।

प्रदेशसभातर्फ सुर्खेत क्षेत्र नम्बर-१ ‘ख’बाट उम्मेदवार रहेका खड्कबहादुर पोखरेल मतदाता खेतमै भेटिने भएकाले भोट माग्न आफू त्यहीँ पुगेको बताउँछन् । 

उम्मेदवारले नागरिकका साना-साना समस्यालाई उठान र पूरा गर्ने वाचा समेत गरेका छन् । टोलबस्तीका समस्यालाई उम्मेदवारले प्राथमिकतामा राख्ने गरेका छन् ।

प्रदेशसभा सदस्य पदकै उम्मेदवार रहेका मुगुका गोपाल बमले कृषकका खेतबारीमै पुगेर सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका विषयमा छलफल हुने गरेको बताए । “आफू निर्वाचित भएर आए निर्वाचन क्षेत्रका ग्रामीण सडक कालोपत्र, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेसातर्फ युवालाई आकर्षित गर्नेलगायत गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरू ल्याउन प्राथमिकता दिन्छु,” उनले भने ।

त्यहाँ उम्मेदवारले मत माग्ने र विकासका विषयमा छलफल मात्र गर्दैनन्, धान भित्र्याउन र खेतबारी जोत्नमा सहयोग समेत गर्छन् ।

नेता-कार्यकर्तालाई खेतबारीमा मत माग्न हतार र बाध्यता भए पनि कृषकलाई भने उम्मेदवारप्रति खासै चासो र रुचि देखिँदैन । कृषक हरेक निर्वाचनमा उम्मेदवारका आश्वासन र सपनाबाट दिक्क देखिन्छन् ।

प्रदेशसभा सदस्यकै अर्का उम्मेदवार जाजरकोटका राजीवविक्रम शाहले कृषकमा उम्मेदवारको जस्तो निर्वाचनको चहलपहल नदेखिएको बताए ।

कर्णालीका १० जिल्लामा अहिले खेतबारीमा धान पाकेको देखिन्छ । कतैकतै तोरी खेती गर्न सुरु गरिएको छ । आकाशे खेतीमा भर पर्ने कृषकलाई धान भित्र्याएपछि खेतको बाँझो जोत्ने हतार समेत सुरु हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस