टी-२० विश्व कप : जिम्बाब्वेविरुद्ध बङ्गलादेशको रोमाञ्चक जित  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टी-२० विश्व कप : जिम्बाब्वेविरुद्ध बङ्गलादेशको रोमाञ्चक जित 


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ ।  टी-२० विश्व कप क्रिकेटको आजको पहिलो खेलमा बङ्गलादेशले जिम्बाब्वेलाई तीन रनले हराएको छ ।

अस्ट्रेलियाको व्रिस्बेनमा जितका लागि १ सय ५१ रनको लक्ष्य पाएको जिम्बाब्वेले आठ विकेट गुमाएर १ सय ४७ रन बनायो । जिम्बाब्वेलाई जितको लागि अन्तिम बलमा पाँच रन चाहिएको थियो । अन्तिम बलमा जिम्बाब्वेले रन लिन सकेन ।

बङ्गलादेशका खेलाडीले जितको खुसी मनाए, जिम्बाब्वेका खेलाडी हारेको भन्दै निराश भए र मैदानबाट बाहिरिए । तर रिभ्यु गर्दा अम्पायरले नो बलको सङ्केत दिएपछि दुवै टोलीका खेलाडी पुनः मैदानमा फर्किएका थिए ।

खेल जित्नको लागि जिम्बाब्वेलाई चार रन चाहिएकोमा नो बलमा समेत रन लिन नसकेपछि खेल बङ्गलादेशले जित्यो । जिम्बाब्वेका लागि सिन विलियम्सले सर्वाधिक ६४ रन बनाए । बलिङतर्फ बङ्गलादेशका लागि तस्किन अहमदले तीन तथा मोसादिक होसाइन र मुस्ताफिजुर रहमानले २-२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ थालेको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर १ सय ५० रन बनायो । उसका लागि नजमुल होसाइन शान्तोले ७१ रन बनाए । जितसँगै तीन खेलमा चार अङ्क जोडेर बङ्गलादेश दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको जिम्बाब्वे चौथो स्थानमा झरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस