राति लुकेर फोहोर फाल्नेमाथि कारबाही गर्न नगरप्रहरीको गस्ती, २५ हजारसम्म जरिबाना « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

राति लुकेर फोहोर फाल्नेमाथि कारबाही गर्न नगरप्रहरीको गस्ती, २५ हजारसम्म जरिबाना


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रातिको समयमा जथाभाबी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्नेलाई लक्षित गर्दै रातिको समयमा नगर प्रहरी खटाउन सुरु गरिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

एसपी पाण्डेका अनुसार सार्वजनिक स्थलमा जथाभाबी फोहोर फाल्नेलाई फोहोरको प्रकृति र मात्रा हेरेर १ हजारदेखि २५ हजारसम्म जरिबाना तिराउने गरिएको छ । रातिको समयमा चारवटा समूह बनाएर खटिएको २० जनाको टोलीले जथाभाबी फोहोर फालेको भेट्टाए तत्काल पक्राउ गरेर कार्यालयमा थुन्ने गरेको छ ।

महानगरको नीति बमोजिम जरिबाना तिराउने काम भइरहेको एसपी पाण्डेले बताए । महानगरले फोहोरको दीर्घकालीन समाधान नखोज्दा पटक–पटक फोहोरको समस्या देखिँदै आएको छ । केही महिनायता निरन्तर फोहोर उठ्दै आएको महानगरले जनाएको छ ।

महानगरका अनुसार रातिको समयमा सार्वजनिकस्थलमा फोहोर फाल्ने प्रवृत्ति अन्त्य गर्न सो काम थालिएको हो । चर्को जरिबाना तिर्नुपर्ने डरले पनि फोहोर नफाल्ने बानी बसाल्न सजिलो हुने महानगरले जनाएको छ ।

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार साउनमा एक लाख ५२ हजार ५००, भदौमा ९९ हजार ५०० र असोजमा १ लाख ४८ हजार ५०० रुपैयाँ जरिबाना तिराइएको छ । महानगरले आम सर्वसाधारणलाई लुकिछिपी सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाल्न अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस