अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार, चुनाव कति चुनौतीपूर्ण ? « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार, चुनाव कति चुनौतीपूर्ण ?


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम मात्र बाँकी रहेको छ । उक्त निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्बलीको लागि विधायक पदमा पुनः निर्वाचित हुनका लागि निर्वाचनमा होमिएका डा.ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीको लागि सहना श्रेष्ठ रहेका छन् । भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात् प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनेका हुन् । सहनाले त २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जीत हासिल गर्नु भएर एउटा अलग्गै इतिहास रच्न सफल भएका छन् ।

सन् २००१ मा अध्ययनको लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ । उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी थिइन् । सन् २०२१ मा उम्मेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जीत हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी छन् । भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन् ।

उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फबाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका हुन् । भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफ्नो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा रहेका छन् । सन् २०२० को जनगणना पश्चात् गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उनको भनाइ छ ।

उनको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात् डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जीत हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो । यसले गर्दा मतदाताले उम्मेदवारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् । भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगेका छन् ।

उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिविद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफ्नो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए । यसले उनको लागि सकारात्मक वातावरण निर्माण भएको छ । उनको क्षेत्रमा ३ जनाले प्रतिनिधित्व गर्छन् ।

मेरिल्याण्ड राज्यको जनरल एसेम्बलीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटीमा बसेर काम गरेका  भण्डारी आफ्नो चार वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन् । 

उक्त समितिमा बसेर लङ्ग टर्म केयर, जेष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधेयक पास गराउन सकेकामा आफ्नो कार्यकाल सफल भएको भण्डारी टिप्पणी गर्छन् । 

दिवङ्गत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नु भएका भण्डारीले कोरोना महामारीको वीचमा एक हजार पाँच सय नेपालीको बेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गरेका थिए । भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रूपमा नआएको भन्दै राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन् ।

अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रिन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छाउँदै राजनीतिमा सक्रिय हुन र उम्मेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस