रोकियो काठमाडौँ महानगरको बजार अनुगमन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रोकियो काठमाडौँ महानगरको बजार अनुगमन


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने व्यापारीलाई कारबाही नहुँदै काठमाडौँ महानगरपालिकाको तिहारलक्षित बजार अनुगमन रोकिएको छ ।

महानगरकी उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले तिहारलक्षित अनुगमन सुरु गरेको थियो । तर, तिहार सुरु भएको भन्दै अभियान रोकिएको छ ।

यसअघि अनुगमनका क्रममा किरा परेको चामल, चिउरा, कुहिएको मासु र बर्गर हाउसदेखि लुम्बिनी भोजनालयको भान्सा अत्यधिक दुर्गन्धित भएको तथ्य बाहिरिएको थियो । 

सङ्गम स्वीट्सले कपडा चम्काउन प्रयोग गरिने केमिकलसमेत प्रयोग गरेको खुलेको थियो । त्यस्तै कालीमाटी क्षेत्रका खाद्यान्न पसलहरूमा म्याद सकिएर किरा परेको चामल र चिउरा बरामद गरिएको थियो । त्यस्तै अनुगमन गरेका अधिकांश व्यापारिक पसलहरूमा साङ्ला, किरा परेका खाद्यान्न बिक्री गर्ने पाइएको छ ।

यस्ता गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने व्यापारीलाई समितिले कारबाही गर्न सकेन । विभिन्न समयमा भएको गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्ने व्यापारीलाई अनुज्ञा पत्रसहित कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिइएको थियो । तर, व्यापारीले नटेरेको बताइएको छ । 

महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरका अत्यावश्यक कामबाहेक अन्य काम रोकिएको बताए । दमकल, कल सेन्टरमार्फत हुने स्वास्थ्य परामर्श र सरसफाइको काम मात्रै सुचारु भइरहेको बताए । 

स्थानीय बस्तु तथा सेवा र स्वच्छ बजारका लागि काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ राजपत्रमा जारी गरेको छ । ऐनबमोजिम महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट गुणस्तरहीन व्यापारिक क्रियाकलाप रोक्न सक्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस