महँगीले हिमाली जिल्लाका उपभोक्ता मर्कामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महँगीले हिमाली जिल्लाका उपभोक्ता मर्कामा


९ कार्तिक २०७९, बुधबार


जुम्ला । असोज तेस्रो साता आएको अविरल वर्षापछिको बाढी र पहिराले लामो समयसम्म सडक बन्द हुँदा हिमाली जिल्लाको बजार मूल्य आकासिएको छ ।

सडक अवरुद्ध भएको २० दिनपछि मात्र कात्तिक ८ गते मङ्गलबार कर्णाली राजमार्ग खुलेको छ । राजमार्ग त खुलेको छ तर सबै सवारी साधन सहजै आवतजावत हुन सकेका छैनन् । सडकको अवस्था अत्यन्तै जोखिमपूर्ण रहेकाले आवश्यक उपभोग्य समानको आयात सहज बन्न सकेको छैन । अवरुद्ध राजमार्गलाई देखाएर मनोमानी तरिकाले बढाइएको उपभोग्य वस्तुको मूल्य व्यापारीले कायमै राख्दा उपभोक्ता मर्कामा परेका छन् ।

उपभोक्ता चामल, दाल, तेल, चिनी, मैदालगायत वस्तु महँगोमा मूल्य किन्न बाध्य छन् । सडक अवरुद्ध हुनुअघि प्रतिकिलो रु ७० मा पर्ने मैदा यतिबेला प्रतिकिलो रु १६० मा बिक्री हुँदै छ । सेल रोटी हाल्नका लागि तिहारको मुखमा प्रतिकिलो रु १६० हालेर पनि मैदा किन्न नपाइएको जुम्लाको चन्दननाथ नगरपालिका–७ की सम्झना महतले जानकारी दिइन् ।

‘खाना पकाउने ग्यासको मूल्य रु तीन हजार पुगेको छ भने खाने तेल प्रति पोका रु १६० पुर्याइएको छ’, उनले भनिन्, ‘बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन् । पहिले रु ५० पर्ने माला अहिले रु २०० पर्छ ।’मूल्य तेब्बरले बढेको उनले बताइन् ।

हिजोका दिनमा खसीको मासु विस्थापित गरेको ब्रोइलर कुखुरा हिमाली जिल्लामा पाउन छोडेको छ । खसीको मूल्य आकासिँदो छ । ब्रोइलर कुखुराको मासु पाइँदासम्म प्रतिकिलो रु एक हजारसम्म पर्ने खसीको मासु सडक अवरुद्ध भएसँगै अहिले रु एक हजार ३०० सम्म पुगेको उपभोक्ता जयशङ्कर धितालले बनाए ।

उनले भने, ‘बजारमा सामान अभाव भएर व्यापारी होइन, उपभोक्तालाई ठूलो मर्का परेको छ । व्यापारीले विपद्का कारण अवरुद्ध कर्णाली राजमार्गलाई माध्यम बनाएर रातारात कमाउने अवसर लिइरहेका छन् । बजारमा कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने व्यापारीलाई स्थानीय प्रशासनले कारबाही गर्नुपर्दछ ।’

सवारी साधनमा प्रयोग हुने डिजेल र पेट्रोल अभाव भएको भन्दै गाडी सञ्चालकले रु २०-२५ प्रतिशत भाडा बढाएका छन् । प्रतिकिलो रु ५० पर्ने तरकारी बढेर रु १०० पुगेको छ । मसलाजन्य सबै वस्तुको मूल्य पनि दोब्बरले बढेको उपभोक्ताले बताएका छन् । यो समस्या कर्णालीका हुम्ला, डोल्पा, मुगु, जुम्लालगायत जिल्लामा बढी छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कर्णाली राजमार्ग खुलिसकेकाले अब बजार पहिलेकै अवस्थामा आउने जानकारी दिए । उनका अनुसार भर्खरै गरेको बजार अनुगमन तथा निरीक्षणका क्रममा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस