पूर्वरक्षामन्त्री प्रधान र पूर्व प्रहरी महानिरीक्षक खनालबीच हुदैछ यस्तो रोचक भिडन्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वरक्षामन्त्री प्रधान र पूर्व प्रहरी महानिरीक्षक खनालबीच हुदैछ यस्तो रोचक भिडन्त


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं.६ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधान र नेकपा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार छन् । पूर्वरक्षामन्त्री प्रधानविरुद्ध एमालेले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक खनाललाई उभ्याएपछि यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको हो ।

काँग्रेस काठमाडौँको सदस्यदेखि सचिव, उपसभापति हुँदै जिल्ला सभापतिसमेत भएर काम गरिसकेका नेता प्रधान चौथो पटक चुनावी मैदानमा छन् । तर, प्रहरीको जागिरबाट अवकाश पाएका खनाल ६ असोजमा मात्रै एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् । खनाल नेपाल प्रहरीका पूर्व महानिरीक्षक हुन् भने पटक–पटक चुनाव जितेका प्रधान यसअघि रक्षामन्त्री थिए ।

यसपटक यहाँबाट प्रतिनिधिसभा सदस्यकालागि प्रधान र खनालबीच उच्च प्रतिस्पर्धा हुन सक्ने नेताहरू बताउँछन् । त्यसो त यही क्षेत्रबाट १३ राजनीतिक दलका उम्मेदवार छन् भने ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका तीन वडा ९२६, २७ र २८०, तारकेश्वर नगरपालिकाका आठ ९१, २, ६, ७, ८, ९, १० र ११० तथा टोखा नगरपालिकाका पाँच ९१, ८, ९, १० र ११० वडाहरू छन् ।

प्रधान ०६४ देखि निरन्तर यही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । उनका प्रतिस्पर्धी भने हरेक पटक फेरिन्छन् । ०६४ को संविधानसभा सदस्य निर्वाचनमा उनी माओवादी नेता हितमान शाक्यसँग पराजित भए ।

०७० मा भने उनले नेकपा एमालेका नेता योगेश भट्टराईलाई पराजित गरे । ०७४ मा वाम गठबन्धन भयो, तर काठमाडौँ–६ बाट भने प्रधान नै निर्वाचित भए । प्रधानले बाम गठबन्धनका उम्मेदवार झक्कु सुवेदीलाई पराजित गरेका थिए । प्रधानले १६ हजार ७८५ मत पाएका थिए भने झक्कुले १५ हजार ४८५ मत पाएका थिए ।

यसपटक माओवादी केन्द्रले पनि आफैँलाई समर्थन गर्दा प्रधानले आफूलाई ग्रीन जोनमा रहेको ठानेका छन् भने एमालेले खनाललाई प्रधानविरुद्ध उभ्याएको छ ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका तीनै वडा (२६, २७ र २८) नेपाली काँग्रेसले जितेको थियो । त्यस्तै, तारकेश्वरका आठमध्ये छ वटा काँग्रेसले जितेको थियो भने दुई वडामा नेकपा एमालेले जितेको थियो ।

टोखाका पाँचमध्ये चार वडा एमालेले जितेको थियो भने काँग्रेस एउटा वडामा खुम्चिएको थियो । वडाध्यक्षले पाएको मतको आधारमा यहाँ काँग्रेसले १७ हजार २७७, माओवादीले २ हजार ४६२ र नेकपा एकीकृत समाजवादीले एक हजार ८५९ गरी गठबन्धनको पक्षमा २० हजार ५८९ मत छ भने एमालेले १४ हजार ३०३ मत पाएको थियो ।

काँग्रेस आफ्नो पुरानो साङ्गठनिक पकड र गठबन्धनको बलमा चुनावी परिणाम ल्याउने दाउमा छ भने एमालेले खनालको नाममा आउने लोकप्रिय मतले जित दिलाउनेमा आशावादी देखिन्छ ।

यही जन्मे, हुर्केर राजनीति गरेका काँग्रेस नेता प्रधान नेवारी समुदायमाझ लोकप्रिय छन् । ०२८ सालदेखि राजनीति थालेका उनी प्राध्यापन पेसा छाडेर पूर्णकालीन राजनीतिमा आए । यहाँ उनको बौद्धिक नेताको छवि छ । उनी नेपाल प्राध्यापक सङ्घका पूर्वसभापति हुन् ।

०५७ मा काठमाडौं काँग्रेसको सचिव भएका उनी ०६७ मा १२ औँ महाधिवेशनबाट काठमाडौं सभापति चुनिएका थिए । काठमाडौंमा नेता प्रकाशमान सिंहसँग फरक मत राख्ने नेता प्रधान नेता कृष्णप्रसाद सिटौलासँग निकट छन् । उनकै सिफारिसमा रक्षामन्त्री बनेका थिए ।

एमाले उम्मेदवार खनाल भने तनहुँमा जन्मिएका हुन् । तर जागिरे बुवाको साथ लागेर काठमाडौं आएका उनको बाल्यकाल र अध्ययन काठमाडौँमै भयो । ०४५ सालमा प्रहरी जवानबाट जागिरे जीवन सुरु गरेका उनी प्रहरी महानिरीक्षकसम्म भए ।

जागिरे जीवनमा दर्जनौँ अपराध अनुसन्धानमा सफल भएर चर्चा कमाएका उनी एक समय प्रहरीमा सेलिब्रेटी अफिसर नै थिए । उनी त्यही लोकप्रियताको बलमा राजनीतिमा लागेको देखिन्छ । तर, ०७२ मा गुण्डा नाइके कुमार घैँटेको इन्काउन्टरदेखि अवकाश भएपछि सांसद अपहरणसम्मको आरोप लागेपछि भने उनी निकै विवादित भए । ०७७ सालमा जसपाका सांसद अपहरणको विवादमा समेत परे । कोरोना महामारी रोक्नका लागि सरकारले लकडाउन गरेका बेला खनालले प्रहरीलाई प्रभावमा पारेर एमाले नेताहरू महेश बस्नेत र किसान श्रेष्ठसहितसँग मिली धनुषा पुगेर जसपाका सांसद डा। सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौं ल्याएको आरोप लागेको थियो ।

एमाले उम्मेदवार खनाल प्रहरी सेवामा आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई चुनाव क्षेत्र राष्ट्रको विकासमा लगाउने दाबी गर्छन् ।

उनले यसअघिका सांसदहरूले क्षेत्रको विकासलाई प्राथमिकतामा नराखेको भन्ने गुनासो पाएको बताए ।

राजनीतिमा विज्ञ मान्छेहरूको खाँचो रहेको, र दलहरूले त्यस्ता विज्ञहरूको प्रवेशलाई सहज नबनाएको भन्दै खनालले आफूले प्रहरी सेवामा प्राप्त गरेको ज्ञानलाई देशको विकासमा लगाउने बताए ।

उनले ठमेल क्षेत्रको पर्यटन विकास, झोर क्षेत्रमा कृषि प्रवर्द्धन र पर्यटन, कोरिडोर क्षेत्रको विकास र सडक पूर्वाधार विकासमा समन्वयको लागि भूमिका हुने बताए ।

यता काँग्रेस उम्मेदवार प्रधान भने यसपटकको चुनावी प्रतिस्पर्धा कोही एउटा नेता र अर्को नेताबीचको मात्रै नभएको दाबी गरे ।

उनले काठमाडौँ–६ का मतदाताको समस्यालाई आफूले सबैभन्दा नजिकबाट बुझेको दाबी गरे ।

नेता प्रधानले आफू काठमाडौँका जनप्रतिनिधिका रूपमा सधैँ जनताप्रति जवाफदेही र उत्तरदायी रहँदै आएको बताए ।

यो क्षेत्रमा पुरुष २९ हजार ९६३ र महिला ३२ हजार १३८ गरी कुल ६२ हजार १०२ जना मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस