ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बन्यो, नत्र देश दुर्घटनामा जान्थ्यो : प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बन्यो, नत्र देश दुर्घटनामा जान्थ्यो : प्रचण्ड


७ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बनेको दोहोर्‍याएका छन् ।

सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सानो मेहनत र सानो कसरतबाट आफूहरू एकजुट नभएको बताए ।

उनले भने, ‘हामीहरू एकजुट नभएको भए देश दुर्घटनामा जाने निश्चित थियो । त्यसैले हामी प्रतिगमनलाई परास्त गर्न एकजुट भएका हौँ । त्यसैले मंसिर ४ को निर्वाचनलाई सामान्य रूपमा नलिनुहोला । अहिले दुई प्रवृत्तिका शक्तिबीच राजनीतिक मुठभेड हुँदैछ ।’

एमाले गठबन्धन परिवर्तन विरोधी भएको प्रचण्डको आरोप छ । आगामी निर्वाचन अग्रगमन र प्रतिगनबीचको सङ्घर्ष भएको उनले बताए ।

‘नेपालमा संविधानसभा सम्भव छैन । राजतन्त्र फाल्न सम्भव छैन भन्ने नेताहरू थिए । तर, त्यतिवेलाका सात राजनीतिक दल र माओवादीबीच संघीय लोकतान्त्रिक गणतन्त्रका लागि एक हुनुपर्छ भन्ने हामी संविधानसभासम्म पुग्यौँ । हिजोको गोरुगाढावाला सिद्धान्तका मान्छेले संविधानमा हस्ताक्षर गरेपछि सङ्घीयता र परिवर्तनवादी भए भनेर सोचेका थियौँ’, उनले भने, ‘हामीले वाम गठबन्धन गरेपछि मात्रै थाहा भयो । संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरे ।’

Tags :
प्रतिक्रिया दिनुहोस