गणपति स्वीट्सको लालमोहनमा साङ्ला, दुग्ध सागरको ६० किलो मिठाइ नष्ट ! « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गणपति स्वीट्सको लालमोहनमा साङ्ला, दुग्ध सागरको ६० किलो मिठाइ नष्ट !


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । जावलाखेलस्थित गणपति स्वीट्सको लालमोहनमा साङ्ला भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खटिएको अनुगमन टोलीले लालमोहनमा साङ्ला भेटेको हो । टोलीले साङ्ला परेको ५१ पिस लाल मोहन नष्ट गरेको छ ।

त्यसैगरी समोसासमेत प्रिन्टेड पेपरमा राख्ने गरेको फेला परेको छ । यसरी राखिएको १७ पिस समोसा नष्ट गर्दै प्रयोग गरिने कच्चा पदार्थको भण्डारणसमेत सन्तोषजनक नरहेको र उत्पादन स्थल पनि फोहोर भेटिएको गणपतिलाई सरसफाइ गरी सात दिन भित्र विभागलाई जानकारी गराउन निर्देशन दिइएको छ ।

यसैगरी ललितपुरस्थित दुग्ध सागरको ६० किलो विभिन्न मिठाईहरू नष्ट गरिएको छ । अस्वस्थ स्थानमा भण्डारण गरिएको ३५० पिस समोसा र बजारबाट फिर्ता भएको भन्दै भण्डारणमा राखिएको ६० किलो मिठाई नष्ट गरिएको खाद्य निरीक्षक पदम राज भुसालले बताए ।

यससँगै उत्पादन र प्रशोधन कार्य स्थगित गर्दै २४ घण्टा भित्र सरसफाइ गरी विभागमा जानकारी गराएर मात्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिइएको छ ।

खाद्य स्वच्छताको दृष्टिले धेरै मिष्टान्न भण्डारमा कमजोरी भेटिएको र स्टोरदेखि कुक, भण्डारण तथा कामदारलाई सरसफाइ सम्बन्धी तालिमै दिनुपर्ने देखिएको उनको अनुभव छ ।

यस्तै थापाथलीस्थित राम भण्डारमा पनि विभागको टोलीले अनुगमन गरेको छ । उत्पादन स्थलको सरसफाइ सामान्य रहेको राम भण्डारमा मेशिनरी औजारको नियमित सफाई गर्ने र अनुमानको भरमा रङ्ग प्रयोग नगर्न भनिएको छ ।

पछिल्लो समय बजार अनुगमनमा सक्रिय रहेको विभागले केही दिन अघि मात्रै गुलाब स्वीट्सलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सम्बन्धित समाचार : खाद्य विभागको अनुगमन तीव्र, गुलाब स्वीट्सलाई २४ घण्टे अल्टिमेटम !

चाँडबाँडमा बढी सक्रिय रहने विभागले आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने र अटेरी गर्नेलाई कानुनी दायरमा ल्याउने विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताएकी छिन् । गुणस्तर र सरसफाइमा विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरिएकोसमेत उनले बताइन् ।

चाडवाँडको बेलामा उपभोक्ता ठग्ने तथा गुणस्तरमा सम्झौता गर्ने व्यवसायीहरूको कमी छैन । नाम चलेकै व्यवसायहरुबाटसमेत गुणस्तरमा सम्झौता गर्ने गरेको भेटिएको छ । जसको नियन्त्रणका लागि सरकारी निकायहरूबिच आपसी तालमेल र समन्वय जरुरी छ भने अनेक थरी अधिकारकर्मीहरूलाई पनि सँगसँगै नियन्त्रण गर्न उत्तिकै आवश्यक भई सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस