सांसद बन्ने विश्वप्रकाश शर्माको तेस्रो प्रयास, एमालेका अग्नि खरेलसँग हुदैँछ यस्तो टक्कर ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद बन्ने विश्वप्रकाश शर्माको तेस्रो प्रयास, एमालेका अग्नि खरेलसँग हुदैँछ यस्तो टक्कर !


३ कार्तिक २०७९, बिहिबार


काठमाठाँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो पटक संघीय संसदमा प्रतिनिधित्वका लागि झापा-१ बाट यसपटक पनि निर्वाचन लड्दैछन्। 

पार्टी जीवनमा निरन्तर सफलता हात पार्दै अघि बढेका शर्माका लागि संसदीय चुनाव भने अफापसिद्ध बन्दै आएको छ। २०७० र २०७४ को चुनावमा झापा-१ मा पराजित बनेका शर्मा तेस्रो पटक पुरानै क्षेत्रमा चुनावी परीक्षामा होमिएका छन्। यस क्रममा , एमाले नेता अग्नि खरेल उनका प्रतिस्पर्धी बनेका छन्। 

अग्नि खरेल पहिलो पटक प्रत्यक्षतर्फ निर्वाचन लड्न लागेका व्यक्ति हुन्। विगतमा कानून मन्त्री र महान्यायाधिवक्ता भैसकेका खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटता कारण पार्टीभित्र बलिया मानिन्छन्।

दुई पटक संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेका खरेल पहिलो पटक जनअनुमोदन हुन निर्वाचन लड्न लागेका हुन्। पहिलो संविधान सभामा खरेल राष्ट्रपतिबाट मनोनीत भएका थिए भने दोस्रोमा समानुपातिकमार्फत संविधानसभा प्रवेश गरेका थिए। 

बलियो सङ्गठन भएको झापा-१ एमालेका लागि सधैँजसो सुरक्षित किल्ला मानिँदै आएको छ।

२०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैँ एमाले उम्मेदवार नै विजेता बन्दै आएका छन्। २०७४ मा पनि एमाले र माओवादी गठबन्धनबाट माओवादीका राम कार्की यो क्षेत्रमा विजेता बनेका थिए। पार्टीको मजबुद् सङ्गठन र पछिल्लो स्थानीय चुनावको गणित खरेललाई उत्साही बनाउने मुख्य आधार बनेको छ।

एक लाख बिस हजार ३ सय ७५ मतदाता रहेको झापा-१ मा स्थानीय चुनावमा एमालेका वडाध्यक्षहरूले ३१ हजार २ सय ३२ मत छ भने काँग्रेसका वडाध्यक्षहरूले २४ हजार ५९ मत प्राप्त गरेका छन्।

झापा-१ मा एमाले(राप्रपा गठबन्धनसँग ३७ हजार १ सय ५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४ सय ७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ। प्रदेश सभाको क्षेत्र ‘ख’ पाएको राप्रपाबाट सविना बजगाईँ उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन्।

काँग्रेस सहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले यसपटक चुनाव जित्ने लक्ष्य लिएका छन्।

अघिल्लो निर्वाचनमा पनि शर्माले काँग्रेसले स्थानीय चुनावमा प्राप्त गरेको भन्दा झण्डै ९ हजार बढी मत ल्याएका थिए। स्थानीय काँग्रेस नेताहरूले विश्वप्रकाशको व्यक्तित्वको प्रभावमा यो चुनाव जित्ने दाबी गर्ने गरेका छन्। 

अर्कोतर्फ पार्टीको बलियो सङ्गठन भएको आडमा खरेलले चुनाव जित्ने एमालेका स्थानीय नेताको दाबी छ। तर झापा-१ मा दुवै प्रतिस्पर्धी ढुक्क हुने अवस्थामा छैनन्। शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती छ। 

एमालेहरू पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा उनी मन्त्री बन्ने दाबीसाथ प्रचार गरिरहेका छन्। एमाले नेताहरू खरेलले विकासका काममा नेतृत्व गर्ने क्षमता राख्ने दाबी गर्ने गरेका छन्।

आउँदो चुनावमा स्थानीय चुनावकै गणित निर्णायक हुने अवस्था कायम रह्यो भने झापा-१ मा तेस्रो पटक चुनावी परीक्षामा होमिएका महामन्त्री शर्मा फेरि समस्यामा पर्न सक्छन्। तर यसअघि दुई पटक पराजित भइसकेका उनले मतदाताको सहानुभूति पाउने सम्भावना पनि उत्तिकै छ।

शर्मा र खरेल दुबैका लागि पार्टीभित्रको किचलो व्यवस्थापनको सकस पनि उत्तिकै छ।

गएको स्थानीय चुनावमा मेचीनगरको मेयरमा शर्माले टिकट खोसेका कृष्णप्रसाद सिटौलानिकट पार्टीका जिल्ला उपसभापति केशवराज पाण्डे लगायतको समूहलाई साथैमा लिएर हिँड्नुपर्ने चुनौती उनीसँग छ। 

त्यस्तै, झापा-१ मा बलियो प्रभाव राख्ने एमाले नेता रवीन कोइराला र उनका समर्थकहरूको चिढिएको मन मिलाउनुपर्ने चुनौती खरेललाई छ।

कोइरालाले प्रतिनिधि सभामा टिकट नपाएर खरेलले पाएपछि कोइराला समर्थक धेरैले सामाजिक सञ्जालमा खुला असन्तोष पोखेका छन्।

यसरी शर्मा र खरेल आ-आफ्ना पार्टी भित्रका असन्तुष्टि व्यवस्थापन गरेर निर्वाचनमा होमिएका छन्। शर्मा र खरेल जसले जिते पनि उनीहरू पहिलो पटक जनअनुमोदित भएर संसदमा पुग्ने छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस