काँग्रेसका ९१ मध्ये ७५ उम्मेदवार ‘ग्रिन जोन’मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसका ९१ मध्ये ७५ उम्मेदवार ‘ग्रिन जोन’मा


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामका आधारमा काँग्रेसले गठबन्धन घटकको सहयोगमा तीमध्ये ६५ देखि ७५ सिट जित्ने आन्तरिक प्रक्षेपण गरेको छ ।

पाँच दलीय गठबन्धनका साथ चुनावी मैदानमा होमिएको काँग्रेस स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा ९१ मध्ये ७५ सिटमा अगाडि देखिन्छ । काँग्रेसका १६ उम्मेदवार मात्र एमाले नेतृत्वको गठबन्धनभन्दा पछाडि रहेको पाइन्छ ।

प्रदेश १ का ७, मधेसमा ३, लुम्बिनीमा, बागमती र गण्डकीका २-२ सिटमा काँग्रेस उम्मेदवार ‘रेड जोन’मा देखिन्छन् । ‘रेड जोन’मा परेको अधिकांश सिटमा पनि काँग्रेस उम्मेदवार झिनो मतले मात्र पछाडि देखिन्छन् । यसको आधारमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाता ती क्षेत्रमा निर्णायक बन्ने सम्भावना छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच देशव्यापी चुनावी गठबन्धन भएको छ । मधेस प्रदेशमा उनीहरूसँग लोसपा पनि जोडिएको छ । यता एमाले, जसपा र राप्रपाबीच स्थानीय आवश्यकता अनुसारमात्र तालमेल भएको छ ।

काँग्रेस र एमालेबीच ७८ सिटमा प्रतिस्पर्धा हुँदै छ । बाँकी १२ सिटमा एमालेको समर्थनमा जसपा, राप्रपा, जनता प्रगतिशील पार्टीसँग काँग्रेस भिड्दै छ । डडेल्धुरामा भने प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध एमाले उम्मेदवार विहीन भएको छ ।

एमालेले मधेस प्रदेशका ३०, लुम्बिनीका ५, प्रदेश-१ का ४ सिट र सुदूरपश्चिमका १ सिटमा एमाले र जसपाको तालमेल भएको छ । एमाले र राप्रपाबीच पनि झापा, रुपन्देही र बाँकेमा मात्र तालमेल भएको छ । कतिपय सिटमा उनीहरू मित्रवत् प्रतिस्पर्धामा उत्रिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस