युवकसहित होटेल छिरेकी युवतीको जलेर मृत्यु, अन्योलमा प्रहरी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

युवकसहित होटेल छिरेकी युवतीको जलेर मृत्यु, अन्योलमा प्रहरी


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको नक्सालस्थित होटेल क्राउन प्लाजामा गत साता युवकसहित कोठा छिरेकी युवतीको जलेर मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरे पनि हत्या की आत्महत्या भन्ने अझै टुङ्गोमा पुग्न सकेको छैन ।

असोज २४ गते दिउँसो चाबहिलकी २३ वर्षीय युवती र बाराको सिमराका केशव रिजाल होटेल क्राउन प्लाजाको कोठा बुक गरेर बसेका थिए । उनीहरू कोठा प्रवेश गरेको करिब एक घण्टापछि चिच्याएको आवाज सुनिएपछि होटेलका कर्मचारीले कोठा खोलेर हेर्दा युवतीको शरीरमा आगो दन्किरहेको भेटिएको थियो ।

त्यसपछि तत्कालै वीर अस्पताल पुर्‍याइए पनि त्यहाँबाट कीर्तिपुरस्थित बर्न सेन्टरमा रिफर गरिएको थियो । असोज २५ गते उपचारका क्रममा ती युवतीको मृत्यु भएको थियो । प्रहरीले युवतीसँगै कोठामा रहेका युवक र होटेलका एक स्टाफलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार युवती जलिरहेको स्थानमा पेट्रोल पनि भेटिएको थियो । उनीहरू दुईवटा झोला लिएर होटलमा प्रवेश भएको पाइएको छ । काठमाडौँ प्रहरी परिसर प्रवक्ता दिनेशराज मैनालीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘आत्महत्या की हत्या भनेर अहिले भन्न सक्ने अवस्था छैन । युवक र मृतक युवतीबीच पुरानो चिनजान रहेको पाइएको छ’, एसपी मैनालीले भने । होटेलका कर्मचारीले प्रहरीलाई जानकारी नदिइकन उपचारका लागि लगेको र त्यसपछि पनि प्रहरीलाई खबर नगरेकाले नियन्त्रणमा लिइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस