आचारसंहिता कडाइका साथ पालना गराउन प्रजिअलाई गृह सचिव सिंहको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आचारसंहिता कडाइका साथ पालना गराउन प्रजिअलाई गृह सचिव सिंहको निर्देशन


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । गृह सचिव विनोद प्रकाश सिंहले निर्वाचन आचार संहितामा कडाइ गराउन निर्देशन दिएका छन् । 

आचारसंहिता कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीको काम, कर्तव्य र अधिकारलगायत विषयबारे प्रस्ट्याउँदै गृह सचिव सिंहले कार्यान्वयनका क्रममा कुनै कसर बाँकी नराख्न ७७ वटै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् । 

साथै जिल्लाको शान्ति सुरक्षा कायम गर्ने सवालमा दत्तचित्त भएर लाग्न र त्यसमा समन्वय गर्न मन्त्रालय हरदम तयार रहेको पनि सिंहको भनाई थियो । 

निर्वाचन आयोगका पदाधिकारीसमेतको उपस्थितिमा भएको भर्चुअल मिटिङका क्रममा मन्त्रालयको तर्फबाट गृह सचिव सिंह र आयोगबाट निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो । 

सो क्रममा केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिए तत्काल नियन्त्रणमा लिन कन्जुस्याइँ नगर्न आग्रह गरेका छन् ।

भर्चुअल बैठकमा प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाका गतिबिधिहरुबारे जानकारी गराउँदै खासगरी तराईका जिल्लामा सवारी साधन आवागमनका क्रममा केही समस्या भएको बताएका थिए । 

आचारसंहिताअनुसार विदेशी सवारी साधनले इजाजत नपाउने भए पनि सीमावर्ती जिल्लामा धेरैजसो भारतीय सवारी प्रयोग गर्ने गरेको विषय सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीले उठाए पनि निर्वाचन आयोगका पदाधिकारीले त्यसबारे ठोस र स्पष्ट जवाफ दिन सकेनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस