कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्न सक्ने सम्मको चेतावनी दिएको छ ।

कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लङ्घनका दर्जनौँ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सूक्ष्म अध्ययन गरिरहेको पनि आयोगको भनाइ छ । त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज गर्न सक्नेतर्फ आयोगले सतर्क गराएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एक भिडियो सन्देशमार्फत कात्तिक १८ गतेभन्दा अघि आमसभा, गोष्ठी, सेमिनार लगायतका कुनै पनि निर्वाचन प्रचारप्रसार गर्ने नपाइने निर्वाचन आचारसंहितामा स्पष्ट व्यवस्था रहेको बताए । कात्तिक १८ भन्दा अघि घरदैलो गर्न भने छुट रहेको आयोगको भनाइ छ ।

तर त्यस्तो घरदैलो कार्यक्रम गर्दा पनि २५ जनाभन्दा बढी जान पाइने छैन । उनले उजुरी परेपछि आयोगले धेरैलाई स्पष्टीकरण सोधेको भन्दै त्यस्ता उजुरीमाथि स्थानीयस्तरमा निर्वाचन अधिकृतहरूले कारबाही गरे नगरेको पनि आयोगले हेरिरहेको बताए । त्यस्तै आयोगले सम्पूर्ण राजनीतिक दलका उम्मेदवारलाई अहिले घरदैलोसम्म गर्नलाई आचारसंहिताले छुट दिएपनि त्यस प्रयोजनका लागि पनि निश्चित सीमा निर्धारण गरेकाले त्यसैभित्र रहेर गर्न भनेको छ । ‘जे पायो त्यही गरेर घरदैलो गर्न पाइँदैन । आचारसंहिता अध्ययन गरिदिनुस्, आचारसंहिताको परिधिभित्र बसिदिनुस् र, त्यो परिधिभित्र बसेर कानुनले सजाय नपाउनेगरी घरदैलो गरिदिनुस् भनेर आयोगले आग्रह गरेको छ’, आयुक्त भण्डारीको आग्रह छ ।

उनले आयोगले स्पष्टीकरण मात्रै सोध्ने कारबाही किन नगर्ने ? भन्ने प्रश्न उठिरहेको भन्दै कम्तिमा एक पटक सुनुवाइको मौका दिने प्रयोजनका लागि स्पष्टीकरण सोधेको जनाए । भण्डारीले कात्तिक १८ पछि भने तोकिएको ठाउँमा कोणसभा, आमसभा, गोष्ठी, सेमिनारलगायतका चुनावी गतिविधि सञ्चालन गर्न सकिने आयोगको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस