सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विशेष टोली परिचालन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको विशेष टोली परिचालन


३० आश्विन २०७९, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सात वटै प्रदेशमा विशेष टोली परिचालन गरेको छ । राजस्व चुहावट तथा तस्करी नियन्त्रणबारे मातहतले गरेको कामको अनुगमन गर्न ‘विशेष’ टिम’ खटाइएको सशस्त्र प्रहरीका एकजना उच्च अधिकारीले बताए ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका युनिटहरूको अनुगमन गरेर प्रतिवेदन बुझाउन सो टिमलाई आइजिपी राजु अर्यालले निर्देशन दिएका छन् । सीमा क्षेत्रका अवैध गतिविधिको नियन्त्रण र त्यहाँ भइरहेका कामबारे सूक्ष्म निगरानी र अनुगमन गरेर माथिल्लो निकायमा तत्काल रिपोर्टिङ गर्न सो टोलीलाई भनिएको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) र  सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा प्रधान कार्यालयबाट खटिने सो टोलीलाई सशस्त्रका कर्मचारीले गलत काम गरेको भेटिए फिल्डमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

भर्खरै सशस्त्र प्रहरी बल, नेपालमा लागू भएको बडी मास इन्डेक्स (बिएमआई) को परीक्षा सञ्चालन गर्न र सीमा क्षेत्रका गतिविधिहरूलाई सूक्ष्म ढङ्गले अनुगमन तथा निरीक्षण गर्न समेत सो टोली परिचालन गरिएको एकजना अधिकृतले जानकारी दिए । सो टोलीले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाको अवस्था त्यसबारे भइरहेका गतिविधिबारे पनि अनुगमन गर्नेछ । निर्वाचन सुरक्षाबारे निर्देशन दिन पनि सो टिमलाई कार्यादेश दिइएको छ । वर्षाको कारण सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरू कुन अवस्थामा छन् भन्नेबारे समेत टोलीले सम्पूर्ण रूपमा विवरण सङ्कलन गर्ने छ ।

सशस्त्रका युनिटहरूमा विभागीय नीति निर्देशन पालनाको अवस्थाबारे इकाईहरूमा नै पुगेर रेकर्ड सिस्टम, ड्युटी परिचालन र शान्ति सुरक्षा कायम राख्ने कार्यमा गरेका कामबारे अनुगमन गरेर प्रधान कार्यालयमा प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस