त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला खुल्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला खुल्यो


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरूको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनामा अहिले त्रिवि केन्द्रीय कार्यालय तालाबन्दी मुक्त भएको हो ।

असार २७ गतेदेखि रेक्टर, शिक्षाध्यक्ष कार्यालयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले लगाएको ताला बिहीबार खोलिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ताला खोलेका छन् । नेविसंघका केन्द्रिय अध्यक्ष शेर्पाले भदौ २७ गते त्रिवि नेविसंघ समितिको विघटन गरे ।

त्रिविको आर्थिक प्रशासन महाशाखाको मुख्य कक्षमा उपत्यका नेविसंघले असार २७ गते लगाएको ताला असोज ५ गते खोलिएको थियो ।

त्रिभुवन विश्वविद्यालयमा निरन्तर तालाबन्दीको कारण शिक्षक, कर्मचारीहरूको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरूले पेन्सनलगायत रोकिएपछि त्रिवि कर्मचारीहरूले ताला खोल्न अपिल गर्दै विज्ञप्ति निकालेपछि ताला खुलेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस