होटेल क्राउन प्लाजामा शङ्कास्पद घटना : युवतीको मृत्यु, २ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

होटेल क्राउन प्लाजामा शङ्कास्पद घटना : युवतीको मृत्यु, २ जना पक्राउ


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । काठमाडौँको नक्सालस्थित होटेल क्राउन प्लाजामा भएको शङ्कास्पद घटनापछि एक युवतीको मृत्यु भएको छ । चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय केशव रिजाललाई पक्राउ गरेको छ । होटेलमा आगोबाट जलेर घाइते भएपछि केशव रिजालले ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो ।

सोमबार बिहान होटेलमा उक्त घटना भए पनि प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रिजाल भने होटेलमै बसेको र घटना घटाएको आशङ्कामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरूलाई काठमाडौँ प्रहरी वृत्त माली गाउँको हिरासतमा राखिएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको छ ।

रिजाल र ती युवती प्रेमी–प्रेमिका भएको प्रहरीको आशङ्का छ । युवतीको शव सोमबार नै पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस