धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे


२६ आश्विन २०७९, बुधबार


म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको सातौँ (आठ हजार एक सय ६७)मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ ।

आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले मङ्गलबार ताकममा ल्याएर छाडेको छ । बुद्धि , प्रकाश , कुमार , वीरबहादुर र सुकलाल परियारलाई धौलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताए ।

‘असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ’, उनले भने, ‘हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।’

चारजना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस