पहिरोमा परि ९ जनाको मृत्यु, २ जना बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिरोमा परि ९ जनाको मृत्यु, २ जना बेपत्ता


२३ आश्विन २०७९, आइतबार


सुर्खेत । अविरल वर्षासँगैको पहिरोमा परी जुम्ला र सल्यानमा शनिबार बिहान ९ जनाको मृत्यु भएको छ ।

जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ बारकोटेबाडाका गणेश शाहीको घर पहिरोले भत्किँदा परिवारका ५ जनासहित २ छिमेकीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी ५५ वर्षीय शाहीसहित उनका २२ वर्षीय छोरा रमेश, बुहारी २२ वर्षीया पानसरा, ८ वर्षीय नाति अनमल र नातिनी मिलन शाहीको मृत्यु भएको छ । उक्त घरमा सुतिरहेका छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको पनि मृत्यु भएको छ ।

प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार छिमेकीहरू आफ्नो घर पहिरोको जोखिममा भएपछि शाहीको घरमा सुत्न आएका थिए । शनिबार बिहान करिब ४ बजे घरमाथिबाट खसेको पहिरोमा परी उनीहरू पुरिएका हुन् ।

घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते भएका छन् । घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै हिमा गाउँपालिका–३ जोगीबाडामा अविरल वर्षापछि आएको बाढीमा परी आमा छोरा बेपत्ता छन् । २५ वर्षीया सत्यदेवी योगी र उनका ३ वर्षीय छोरा विनमको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–८ मार्के र त्रिवेणी गाउँपालिका–४ गैरागिठीमा पनि पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मार्केमा घर नजिकैबाट खसेको पहिरोमा पुरिएर १३ वर्षीय अजय विक र छहेरेखोलामा खानेपानीको मुहान सफा गर्ने क्रममा माथिबाट पहिरो आएपछि ४४ वर्षीय चन्द्रबहादुर पुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख डीएसपी दामोदर केसीका अनुसार पहिरोले जिल्लाभरि १२ घर भत्किएका छन् भने झन्डै २५ परिवार विस्थापित भएका छन् । पहिरोका कारण कपुरकोट गाउँपालिका–५ का केशरसिं राना, वीरबहादुर राना, विजयसिं बुढा, छत्रेश्वरी गाउँपालिका–१ का राजकुमार शर्मा, बाग्चौर नगरपालिका–९ का जंगवीर बुढा, नोखिराम ओली, जयबहादुर केसीलगायतको घर भत्किएको उनले जानकारी दिए । पहिरोले घर जोखिममा परेपछि विस्थापित कपुरकोट–५ सल्लामका १४ परिवारलाई सिद्ध आधारभूत विद्यालयमा राखिएको छ ।

३ जनाको शव फेला
प्यूठान– शुक्रबार गएको पहिरोमा परी बेपत्ता भएका प्यूठानको माण्डवी गाउँपालिका–४ उदरपुरकोट खरिन्डेका ६ मध्ये ३ जनाको शव शनिबार फेला परेको छ ।

खोजतलासका क्रममा ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापामगर र २१ वर्षीया टेकी राहुँमगरको शव पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुशील थापामगरले बताए । अन्य ३ जनाको खोजी जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस