जोखिममा खाद्य तथा पोषण सुरक्षा : सुधारात्मक प्रयास निरन्तर जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जोखिममा खाद्य तथा पोषण सुरक्षा : सुधारात्मक प्रयास निरन्तर जारी


२२ आश्विन २०७९, शनिबार


मानव सभ्यताको उत्पत्तिसँगै विभिन्न किसिमका खाद्यपदार्थहरू जीवन निर्वाह गर्ने मुख्य आधारको रूपमा रही आएको छ ।विकासको क्रमसँगै हाम्रो जीवनशैली सोही अनुरूप रूपान्तरण हुँदै गएको र खानपानमा पनि परिवर्तन हुदै खाद्यबस्तुहरु देश/विदेशबाट आपूर्ति हुँदै आएको छ । प्रत्येक नागरिकले जीवन निर्वाह गर्नको निम्ति आफुले खोजेको समयमा भोको पेट भर्न आवश्यक खाद्य बस्तुको उपलब्धता हुनु पर्ने सोचका साथ खाद्य सुरक्षा शब्द सन् १९९६ को संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनबाट प्रचलनमा आएको छ । यसलाई मानव अधिकारको एक आधारभूत अङ्गको रूपमा लिइएको छ ।

खाद्यान्नको सर्वसुलभ उपलब्धता, यसको पहुँच, उपयोग र स्थिरता खाद्य सुरक्षाका महत्त्वपूर्ण आयामहरू हुन् । निरन्तर रूपले विश्वमा तीव्र रूपमा वृद्धि भइरहेको जनसङ्ख्याको भोको पेट भर्नका लागि खाद्यान्नको उत्पादन त्यसै अनुपातमा बढाउँदै लैजानु पर्ने आवश्यकताको सँगसँगै चुनौतीपूर्ण पनि रहेको छ । राष्ट्रिय योजना आयोगको १५औँ योजनामा उल्लेख भए बमोजिम नेपालमा २१ प्रतिशत मानिस अझै पनि पर्याप्त खाना नपाएको अवस्था छ । ती २१% मानिसको भोको पेट भर्ने जिम्मेवारी हामी कृषिकर्मी माथि रहेको छ। 

विश्वका विभिन्न राष्ट्रहरुले आफ्ना नागरिकको जीवन धान्न असफल भइरहेको समाचार बेलाबखतमा सुन्ने गरिन्छ । भनिन्छ “भोकाएकोले जुनसुकै अपराध पनि गर्न सक्दछ” त्यसैले कसैलाई भोको बस्न नपरोस् भनेर नेपालको संविधान, २०७२ को धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ जसमा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हकको सुनिश्चित गरेको छ ।

यो ब्रह्माण्डमा रहेका करिब २० लाख जीवहरू मध्ये पैसाको प्रयोग गर्ने र खान नपाएर भोकै पनि मर्ने एक मात्र सर्वश्रेष्ठ प्राणीलाई नै मानव जाति भनिन्छ ।मानव जातीले प्राकृतिकको स्वरूपलाई आफ्नो अनुकूल परिमार्जित गर्दै असमान खाद्यान्न आपूर्ति प्रणाली सिर्जित भई कोही भोकै मर्ने र कोही छानी छानी खाने प्रवृत्ति कायम भएको छ । यिनै खाद्य सुरक्षा प्रणालीमा समानजस्यता कायम गर्न दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरू मध्ये लक्ष्य १ (नो पोभर्टी) र २(जीरो हंगर) खाद्य सुरक्षासँग र लक्ष्य ३(गुड हेल्थ एण्ड वेल विइङ) पोषणसँग सम्बन्धित रहेको छ।यसका साथै कृषि विकास रणनीति (२०१५-३५), पन्धौ योजना (२०१९-२०२४), बहु क्षेत्रीय पोषण योजना (२०१३-२०२२) जस्ता विभिन्न योजनाहरू कार्यान्वयनको क्रममा रहेका छन् ।

मुख्य खाद्यान्न बालीको उत्पादन र कृषि बस्तु आयातकोअवस्था:
नेपालमा सबैभन्दा धेरै धान र त्यसपछि मकै तथा गहुँ उत्पादन हुने गरेको छ।आ.व. २०७६/७७ मा तराईमा गएको बाढीको कारण केहि मात्रामा धानको उत्पादनमा ह्रास आए पनि समग्रमा धान, गहुँ र मकैको उत्पादन निरन्तर बढदै गएको देखिन्छ। आ. व. २०७७।७८ मा खेती योग्य जमिनको ४७% क्षेत्रफलमा खेति हुने धान बालीको कूल उत्पादन ५६ लाख २२ हजार मे.ट., ३०% क्षेत्रफलमा खेति हुने मकैको कूल उत्पादन २९ लाख ९८ हजार मे.ट. र २२% क्षेत्रफलमा खेति हुने गँहुको कूल उत्पादन २१ लाख २७ हजार मे.ट.रहेको छ । यसका साथै कोदो (३,२६,४४३ मे.ट.), फापर (१५,९१७ मे.ट.) र जौ (२९,४४३ मे.ट.)खाद्यान्न बालीहरुको उत्पादनमा निकै कम योगदान रहेकोले यसमा उल्लेख गरिएको छैन्।

यसरी वर्षै पिच्छे उत्पादन बढेपछि आयात घट्नुको साटो झन् तिब्र गतिमा चामल तथा अन्य खाद्यपदार्थहरू भारत लगायत विभिन्न मुलुकहरूबाट बर्षेनी रूपमा भित्रिने गरेको पाइन्छ ।आ.व. २०७७/७८ मा रु. ३ खर्व २३ अर्बको खाद्यपदार्थ विदेशी मुलुकबाट नेपाल भित्रिएको तथ्याङ्कले देखाउँछ जसमा चामल मात्र रु. ५० अर्बको रहेको छ ।आम नागरिकको क्रय शक्ति बढेपछि फेरिएको जिब्रोको स्वादको कारण आयातित खाद्य सामग्रीको माग बढेको र स्वदेशी उत्पादनको मागमा कमी आएको हो भन्ने आँकलन गर्न सकिन्छ। 

पछिल्लो एक दशकको अवधिमा देशमा खाद्यान्न आयात आठ गुणाले वृद्धि भएको छ  र देशको कुल आयात व्यापारमा कृषिजन्य उपजले पाँचौँ स्थान ओगटेको छ  (विनोद सिजापति,नयाँ पत्रिका, २०७८)। नेपालमा वार्षिक रूपमा ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको र करिव ३ करोड मानिसलाई चामल पुर्‍याउन झन्डै ८० लाख मेट्रिक टन धानको आवश्यकता रहेको देखिन्छ ।

सन् २०१९ मा प्रकाशित राइस स्ट्राटेजी फर नेपाल’ शीर्षकको शोधपत्रमा अनुमान गरिएअनुसार सन् २०३५ सम्ममा नेपाललाई वार्षिक एक करोड २ लाख ६० हजार मेट्रिक टन चामल आवश्यक पर्न सक्छ (अविनाश आचार्य,सिआइए न्युज, २०७९)।खाद्य सुरक्षाको प्रमुख स्तम्भको रूपमा रहेको खाद्य उपलब्धताको लागी नेपालमा निरन्तर प्रयास हुँदै आएको छ तर उपलब्धि निकै न्यून रहेको छ जस्तै पछिल्लो ३० वर्षमा धान उत्पादनमा ६०% र उत्पादकत्वमा ५९% मात्र वृद्धि भएको छ (कृषि विभाग,२०७८)। यसरी कृषि प्रधान देशमा हरेक वर्ष कृषिलाई प्राथमिकतामा राखेर सरकारले नीति तर्जुमा गरे पनि देशले चाहे जस्तो फड्को मार्न सकेको छैन ।

गम्भीर खाद्य असुरक्षा
विश्व बैंकको व्याख्यानुसार १८०० क्यालोरीभन्दा कम हुने गरी प्राप्त भएको खाद्य अवस्थालाई गम्भीर किसिमको खाद्य असुरक्षा भनिन्छ । बिभिन्न तथ्याङ्कले देशमा खाद्य सञ्चितिको अवस्था हुनु पर्ने देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको करिब ७-१०% जनसङख्या गम्भिर खाद्य असुरक्षाको अवस्थामा रहेको छ (ग्लोबल आवाज, २०७९)।

विश्व भोकमरी सूचकाङ्क , २०२१
बिश्व भोकमरी सूचकाङ्कको सूची अनुसार सन् २०२१ मा विश्वको ११६ देश मध्ये नेपाल ७६औं स्थानमा परेको छ । अघिल्लो वर्ष १०७ मुलुकमध्ये नेपाल ७३ औं स्थानमा थियो । गत वर्षको तुलनामा नेपाल केही तल झरे पनि छिमेकी मुलुक भारत (१०१औं स्थान) भन्दा राम्रो अवस्थामा रहेको छ । सन् २००० देखि २०२१ सम्म नेपालको जीएचआई स्कोरमा उल्लेखनीय सुधार भई ३७.४ बाट १९.१ मा झरेको र भोकमरीको खतरनाक अवस्थाबाट मध्यम अवस्थामा स्थापित हुन सफल भएको छ ।

विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो । यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतिजा प्रत्येक वर्षको अक्टोबरमा जारी गर्ने गरिन्छ । हरेक बर्ष कन्सर्न वल्र्डवाईड र वेल्टहङ्गरलाइफले बिभिन्न किसिमका सूचकहरुको सहायताबाट जीएचआई स्कोर निकाल्ने गर्दछ। यि सूचकहरु निम्न प्रकारका रहेका छन् ।

१. शिशु मृत्युदर

२. पाचँ बर्ष मुनिका बालबालीकाको पुडकोपन र खयाउटेपन

३. कुपोषित जनसङख्याको अनुपात

(Source: www.globalhungerindex.org)

पोषणको अवस्था:
खाद्य सुरक्षा र पोषण एक आपसमा जोडिएको र एकले अर्काको अवस्था झल्काउने गर्दछ। यसलाई एकै सिक्काको २ पाटा पनि भन्न सकिन्छ । कुपोषणलाई खाद्य असुरक्षाको कारणले देखिने अवस्थाको रूपमा लिन सकिन्छ । आज पनि विश्वमा करिव १७ करोड बालबालिकाहरू कुपोषित अवस्थामा रहेको तथ्याङ्कले देखाउँछ । त्यसमा पनि अधिकांश गरिब परिवारबाट प्रतिनिधित्व गर्ने छन् । नेपालका कूल जनसङ्ख्या मध्ये १७.५ प्रतिशत अर्थात् करिब ५० लाख जनताहरू गरिबीको रेखामुनि रहेका छन्।

गरिब मानिस खाना नपाएर कुपोषित हुन्छन् भने धनी मानिसहरु बढी खाना खाएर कुपोषित हुने गरेका छन् । नेपाल जनसाँखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार पाँच वर्ष मुनिका बालबालिकाहरूमा कुपोषणको अवस्था हेर्दा ३६ प्रतिशत पुड्का (उमेर अनुसारको उचाइ नहुनु), २७ प्रतिशत उमेर अनुसार कम तौल तथा ११ प्रतिशत ख्याउटे (उचाइ अनुसारको वजन नहुनु) रहेको देखिन्छ ।

खाना एक दुईपल्ट मात्र मिठो खाएर हुने होइन, बच्चा देखि नै पोषिलो सन्तुलित र स्वास्थबर्द्धक आहारा खान सकेमा राम्रो हुन्छ । मानिसको शारीरिक विकास मात्रा नभई बौद्धिक विकास पनि उसले ग्रहण गर्ने खानामा निर्भर हुन्छ । उदाहरणको लागि आइरनको कमीले हुने रक्त अल्पताले हाम्रो बौद्धिक क्षमता(आइक्यू)लाई ९ अङ्कसम्म तथा न्यून आयोडिनको कमीले १० अङ्कसम्म घटाउने अनुसन्धानले देखाएको छ। त्यसैले पोषणको क्षेत्रलाई प्राथमिकता दिई संयुक्त राष्ट्र सङ्घले २०१६ देखि २०२५ को दशकलाई पोषण दशक भनेर घोषणा गरेको छ ।

पोषण सम्बन्धी जागरूकता बढ्दै :
• करिब ९५% घरधुरीका बालबालिकाहरूले आयोडिन युक्त नुनको प्रयोग गर्छन् ।
• ६ देखि ५९ महिना बिचका बालबालिकामा भिटामिन ए निरोधकको पहुँच ८६% छ ।
• नेपालमा हाल ६ महिनासम्म पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत रहेको छ ।
• नेपालका ९९ प्रतिशत बालबालिकालाई कुनै न कुनै मात्रामा स्तनपान गराउने गरेको छ ।
• सन् २००१ मा ५७% रहेको पुड्कोपनको संख्या अहिले घटेर ३६%, न्यून वजन ४३% बाट घटेर २७% र ख्याउटेपन ११% बाट घटेर १०% पुगेको छ।

कुपोषणको कारण तथा असरहरु:
कुपोषण प्रति बिस्तारै जनसमुदाय जागरूक हुँदै गएका छन्। कोभिड १९ को कारणले पनि मानिसमा खानाको गुणस्तर प्रतिको दृष्टिकोणमा परिवर्तन आएको हामी सबैलाई अवगत नै छ । कुपोषणको कारण परिवारको सामाजिक र आर्थिक अवस्था भए पनि यसको असर पुस्तौपुस्ता सम्म रही रहने देखिएको छ ।

खाद्य तथा पोषण सुरक्षा सुधारका प्रभावकारिताको लागि सुझावहरु :
• श्रमिक अभावको कारण कृषि उत्पादन लागत बढ्दै गएको र किसान खेती प्रति निरुत्साहित हुँदै गएको हुनाले उत्पादकत्व बढाउन र उत्पादन लागत घटाउनका लागि एक वार्ड एक कष्टम हायरिङ सेन्टर स्थापना तथा सञ्चालन गरिनु पर्ने ।
• नेपाली वैज्ञानिकहरूद्वारा उन्मोचित नयाँ जातभन्दा पुरानै जातहरू कृषकको रोजाइमा पर्ने हुँदा उच्च उत्पादन दिने/मसिना/वासनादार विदेशी हाइब्रिड जातहरू दर्ता गर्ने र नेपालमा २ वटा हाइब्रिड जात मात्र भएकोले उच्च उत्पादन दिने थप हाइब्रिड धानका जातहरू उन्मोचन गरी कृषकहरूलाई यसप्रति आकर्षण गर्न डेमोष्ट्रसन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने।
• चामलमा आत्मनिर्भर हुनको लागी चैते धानको क्षेत्रफलमा विस्तार गर्न आवश्यक भएको हुँदा चैते धान लक्षित कार्यक्रम तराईका प्रत्येक जिल्लामा व्यापक रूपमा लागु गर्नु पर्ने ।
• कुल खेती योग्य जमिनको ३०-३५% क्षेत्रफलमा मात्रा सिचाई सुविधा पुगेको र सिचाई बिना खेती सम्भव नहुने हुँदा हरेक पालीकाले आफ्नो कमान्ड क्षेत्रमा पानीको मुहान यकिन गरी कुलेसो निर्माण तथा मरम्मत कार्य अगाडी बढाउनु पर्ने र साथै वर्षा पानी जम्मा गरी सिचाई गर्ने प्रविधि विस्तार गर्नु पर्ने ।
• नेपालको मुख्य बाली धानको सिजनमा जहिले रासायनिक मलको अभाव हुने र किसानले विभिन्न बिचौलिया मार्फत मल किन्दा तोकेको मूल्य भन्दा डेढ देखि दुई गुणा बढी तिर्ने गरेकोले उच्च मूल्य तिरेर पनि किसान मल किन्न सक्ने देखिएको हुँदा रासायनिक मलमा सरकारको अनुदान घटाई आयातित रासायनिक मलको परिमाण माग अनुसार बढाउनु पर्ने।
• कोरोनाको समयमा बजार बन्द हुँदा हामी आफनै घरमा कौसी लगायत किचेन गार्डेनमा तरकारी तथा फलफूल खेती गरी ताजा तरकारी र फलफूल उत्पादन गरे जस्तै तरकारी र फलफूल आयातमा प्रतिबन्ध लगाइ घर घरमा ताजा तरकारी र फलफूल उत्पादन गर्न प्रेरित गर्नु पर्ने ।
• पोषण लक्षित कार्यक्रम (आइरन चक्की तथा भिटामिन ए चक्की वितरण, किशोरी तथा गर्भपूर्वको अवस्था र मातृ स्वास्थ्य आदि)र पोषण संवेदनशील कार्यक्रम (घरबारी बगैँचा, आयमूलक कार्यक्रम, विद्यालयमा दिवा भोजन, आदि) लाई पालिका मार्फत संचलान गर्ने र यसमा प्रदेश तथा संघीय सरकारले आवश्यक सहयोग गर्ने ।
• स्थानीय पोषिला रैथाने खाद्य बाली तथा पशुपन्छीको संरक्षण र प्रवर्द्धन गरी बजारमा पाइने पत्रु खानाहरू (जङ्क फुड) उत्पादन गर्न तथा खान बन्द गर्नु पर्ने ।

सन्दर्भ सामग्री
• खाद्य तथा पोषण सुरक्षा पुस्तिका २०७७, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं
• नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली( Nepal Food Security Monitoring System), https://www.neksap.org.np/
• Statistical Information on Nepalese Agriculture (2077-78), Ministry of Agriculture and Livestock Development, Singhdarbar, Kathmandu, Nepal
• THE FOOD SECURITY ATLAS OF NEPAL2019, National Planning Commission, Government of Nepal
• Sustainable Development Goals, status and Roadmap:2016-2030
• The Sustainable Development Goals Report 2022, United Nations (UN)
• शर्मा, बसुन्धरा(२०७६) नेपालमा खाद्य सुरक्षा र पोषण अवस्था, https://www.nepalihealth.com/2019/11/03/42879/
• आचार्य, अविनाश (२०७९) भात खाने बानीले नेपाली अर्थतन्त्र दवावमा, https://www.cinkhabar.com/farming/2595
• https://www.globalaawaj.com/archives/205611 (१भाद्र,२०७९)
• ttps://www.globalhungerindex.org
• https://www.bbc.com/nepali/news-50804504
• https://madhyanhadaily.com/post/7889 (आशिवन २६, २०७६)
• https://www.vijayafm.org.np/content/1045/2021-07-20 (श्रावण ०५, २०७८)
• अन्य अनलाइन समाचारहरु

Tags :
प्रतिक्रिया दिनुहोस