घनश्याम भुसालले छाडे एमाले, स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घनश्याम भुसालले छाडे एमाले, स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने तयारी


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । नेता घनश्याम भुसालले एमाले छाडेका छन्। शनिबार उनले आफ्नो फेसबुकमा लेख्दै पार्टीमा नरहने बताएका हुन्। 

‘…म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ उनले लेखेका छन्।

नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनमा भुसाललाई टिकट नदिएपछि उनले पार्टी छाडेका हुन्। 

योसँगै भुसालले रुपन्देही(१ मा स्वतन्त्रबाट उठ्ने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ। यहाँ उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने बचन दिएको स्रोतले बताएको छ । 

रुपन्देहीको १ गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको छ। रुपन्देही भुसालको गृह जिल्ला पनि हो।

भुसाल निकट स्रोतका अनुसार उनी स्वतन्त्र उठ्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गर्ने बचन दिएका छन्।

भुसालले २०७४ को चुनावमा रुपन्देही ३ बाट जितेका थिए। यसपालि भने उनले एमालेमा पनि रुपन्देही १ नै खोजेका थिए। २०७४ को निर्वाचनमा रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्माले जितेका थिए।

माओवादीका केही नेताले भने भुसाल माओवादीकै चुनाव चिह्नबाट उठ्ने भनिरहेका छन्। तर उनीनिकट नेताहरूले भने यसमा सत्यता नभएको बताइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस