काँग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले गरे स्वतन्त्र उम्मेदवारी घोषणा  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेसको कारबाहीमा परेका पुष्करनाथ ओझाले गरे स्वतन्त्र उम्मेदवारी घोषणा 


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको कारबाहीमा परेका नेता पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ओझाले उम्मेदवारी घोषणा गरेका हुन् । 

ओझाले आफूलाई काँग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेका बताए । आफू सर्वदलीय उम्मेदवार हुन खोजेको उनको भनाइ छ । 

काँग्रेसबाट जितेर राज्यमन्त्रीसमेत भइसकेका ओझाले आफूले धनगढीबाट विद्रोह सुरु गरेको बताए । 

उनले काँग्रेसले आफूलाई भिलेन बनाएको बताए । उनले निर्वाचनका लागि ५० लाख ऋण लिएको समेत बताएका छन् ।

०७४ सालको प्रतिनिधिसभा चुनावमा आकाङ्क्षी रहेका ओझा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि उनी रुष्ट थिए । आरजु एमालेका नारदमुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै काँग्रेसले क्रियाशील सदस्यसमेत नरहने गरी ओझालाई कारबाही गरेको थियो ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली-५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बिचमा संस्थापन पक्षबाट ओझालाई फकाउने प्रयाससमेत भएको थियो । तर, उनी मान्न तयार भएनन् । 

काँग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई उठाउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस