विवेकशील साझामा पहिरो, यस्तो भन्छिन् अध्यक्ष बास्कोटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विवेकशील साझामा पहिरो, यस्तो भन्छिन् अध्यक्ष बास्कोटा


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रातिर लागेसँगै विवेकशील साझा छाड्ने लहर चलेको छ । एकपछि अर्का प्रदेश तथा जिल्ला संयोजकहरूले पार्टी परित्यागको घोषणा गरेका छन् ।

कतिसम्म भने किशोर थापा, निरुपमा यादव, लगायतका संस्थापक नेताहरुले समेत पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार मात्र कार्यसम्पादन समिति सदस्यद्धय शोभा शाक्य र शरद पाठकले राजीनामा दिएका छन् ।

विवेकशील साझा छाडेका धेरै मिश्रसँगै राप्रपातिर जाने सम्भावना छ, केही भने अलमलमा छन् । एकाध भने नेपाली काँग्रेस र नेकपा एमालेतिर लागेका छन् ।

विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाल भने यो अपेक्षित नै भएको बताएकी छिन् । यद्यपि एकपछि अर्को नेताले पार्टी छाडेको समाचार प्रवाहित हुँदा नकारात्मक सन्देश गएको स्वीकार गरिन् ।

साउन २०७८ मा तत्कालीन अध्यक्ष मिश्रले मार्ग परिवर्तनको प्रस्ताव अघि सारेका थिए, जसमा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत सङ्ग्रह गर्नुपर्ने उल्लेख थियो । राजतन्त्रतर्फ जनताको आकर्षण बढेको निष्कर्ष समेत रहेको प्रस्तावलाई विवेकशील साझाले मूल दस्ताबेज बनाएपछि १८ मंसिरमा सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीसँग एकता गरेको थियो ।

बास्कोटाका अनुसार अहिले पार्टी छाड्नेहरूमा धेरै मिश्रले मार्ग परिवर्तनको प्रस्ताव अघि सारेपछि पार्टीमा आएकाहरू छन् । 

तर पार्टीमा आएको यो विभाजनले आसन्न चुनावलाई प्रभावित गर्ने अध्यक्ष बास्कोटाको निष्कर्ष छ । उनका अनुसार यही चुनावमा बारा र काठमाडौँ उपत्यकामा राम्रो परिणाम आउने पार्टीको अपेक्षा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस