जनपक्षीय कानुनहरू ठुला नेताको दबाबमा तुहाइन्छ : श्रममन्त्री कुँवर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जनपक्षीय कानुनहरू ठुला नेताको दबाबमा तुहाइन्छ : श्रममन्त्री कुँवर


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानुनहरू ठुला नेताहरूको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् ।

सोमबार ७७ औँ विश्व श्रमिक दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले भ्रष्टाचार, नागरिकता र श्रम आयोगलगायतका ऐन, नियम बनाउने ठुला नेताहरूले दबाब दिने गरेको बताए ।

उनले अहिलेको सरकारले पनि श्रम आयोग गठनसम्बन्धी प्रक्रिया तीन पटक मन्त्रिपरिषद्मा पुर्‍याउँदासमेत एजेन्डा नबनेको गुनासो गरे । मन्त्री कुँवरले श्रम आयोग गठन गर्ने कुरा तीन पटक मन्त्रिपरिषद्मा पठाए पनि एजेन्डा नबनाई अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले आर्थिक वर्ष २०७८/०७९ मा श्रम प्रतिष्ठान बनाउने कुरा राखिएकाले अहिले श्रम आयोग गठन गर्न समस्या सिर्जना भइरहेको बताए । उनले अर्थ मन्त्रालयले यस बारेमा स्वीकृति जनाउने हो भने श्रम प्रतिष्ठान खारेज गरेर श्रम आायेग गर्न समय नलाग्ने बताए ।

उनले अर्थमन्त्री श्रम आयोग गठनका लागि तयार भए १० दिनभित्र नै श्रम आयोग गठन गर्ने ल्याकत मन्त्रालयले राखेको बताए । उनले सिप प्रतिष्ठान गठन गर्ने कुरा हालसम्म पनि मन्त्रिपरिषद्ले स्वीकार्न नसकेको बताए ।

मन्त्री कुँवरले श्रमिकको क्षेत्रमा अझै पनि कयौँ समस्याहरू रहेको उल्लेख गर्दै श्रमिक क्षेत्रलाई कसरी मर्यादित र व्यवस्थित बनाउने भन्ने विषय अहिलेको पेचिलो विषय बन्दै गइरहेको बताए । उनले श्रम क्षेत्रलाई नेपालमा सबैभन्दा धेरै अपमानित र अव्यवस्थित गरिएको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस