काठमाडौँ महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ महानगरले डेढ महिनामा भत्कायो १३५ संरचना


१५ आश्विन २०७९, शनिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ।

भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनै रूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने।

सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथ प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको उनको भनाइ छ। गत साउन १ गते जारी गरिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि महानगरले डोजर प्रयोग गरी भत्काउने काम सुरु गरेको उनले बताए।

डेढ महिनामा ५६ स्थानका एक सय ३५ संरचना भत्काएको महानगरपालिकाले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत हालसम्म सबैभन्दा बढी बानेश्वर र नयाँ बसपार्क क्षेत्रमा भत्काएका छन्।

महानगरले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ। २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ।

नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सबै संरचना अवैध ठहर गर्दै महानगरले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो।

बेसमेन्ट तथा जमिन तलालाई पार्किङका रूपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्गमा दुई वटा भवन छन्।

यिनीहरू नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन्। वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेस्ट गेस्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

वडा नं २६ स्थित सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्चुरी बैङ्क परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन्।

वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँच वटै घरको पार्किङ बनाउने काम भएको छ।

वडा नं २२ सुनधारास्थित काठमाडौं मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ। यही वडामा रहेको आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ।

वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ। वडा नं ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ। वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनाधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ। त्यस्तै वडा नं १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ।

वडा नं १६ को ढुङ्गे धारा, वडा नं १७ को धोबीचौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ। वडा नं १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ।

वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशाल बजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमाशङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना हटाइएको छ।

यस्तै काठमाडौंं महानगरपालिकाले दसैँमा पनि अवैध संरचना भत्काउने काम नरोक्ने भएको छ।

अवैध रूपमा निर्माण भएका भनिएका संरचनाहरू भत्काउने काम नरोक्ने महानगरका प्रहरी निरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। यसरी अवैध संरचना हटेसँगै पार्किङको समस्या २५ प्रतिशतले कम भएको महानगरले जनाएको छ।

हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन छन्। ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस