केबल र नेटका तार व्यवस्थित बनाइने, महानगरको तर्फबाट इन्जिनियर सिंहलाई जिम्मेवारी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

केबल र नेटका तार व्यवस्थित बनाइने, महानगरको तर्फबाट इन्जिनियर सिंहलाई जिम्मेवारी 


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । 

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे । 

जताततै बिजुलीको खम्बामा तार झुण्डिएको र यसले सहरको सुन्दरता मात्र होइन कहिलेकाहीँ आगलागीको समस्या देखिने गरेकाले यसलाई व्यवस्थित गर्न प्रमुख कोइरालाले आग्रह गरे । जथाभाबी लत्रिएका तार सहजीकरण गर्न तथा सहयोग गर्न महानगरले सक्दो सहयोग गर्ने र यसका लागि इन्जिनियर अनिल सिंहलाई महानगरको तर्फबाट जिम्मेवारी तोकिएको हो ।

पहिलो चरणमा सहरका मुख्य क्षेत्रका तार व्यवस्थित गर्ने गरी काम गर्न प्रमुख कोइरालाले निर्देशन दिँदै भने, “विराटनगरलाई सुन्दर, सफा र व्यवस्थित गर्ने विषयमा कसैसित पनि सम्झौता हुँदैन, कम्तीमा कात्तिक मसान्तभित्र बजार क्षेत्रका तार व्यवस्थित गरिसक्नुहोस् ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कर सङ्कलनका लागि महानगर निर्मम तरिकाले लाग्ने बताए । महानगरको आन्तरिक आम्दानी नबढाएसम्म विकासले गति लिन नसक्ने उनको भनाइ थियो ।

वर्डलिङ्क, म्याक्स, क्लासिटेक, सुविसु, भायानेट, कनेक्टलगायतका प्रतिनिधिलाई बोलाएर महानगरले छलफल गरेको हो । महानगरभित्र पोलमा रहेका ६० प्रतिशत तार काम नलाग्ने रहेको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस