निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको दसैँ कार्यालयमै  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको दसैँ कार्यालयमै 


१३ आश्विन २०७९, बिहिबार


काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारीका काममा जुट्नुपर्ने भएकाले यो वर्ष निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीले ढुक्कले दसैँ मान्न नपाउने भएका छन् । दसैँको टीकाको दिन समेत कार्यालय खुला रहनेछ भने कर्मचारीलाई टिका लगाएर पालैपालो कार्यालयमा हाजिर हुन भनिएको छ ।   

निर्वाचनको तयारीको चटारोका कारण दसैँका बेलापनि आवश्यक निर्णय गर्नका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितका आयुक्तहरूको टोली आयोगमा उपस्थित हुनेछन् ।  

आयोगका पदाधिकारी र कर्मचारीलाई टिका लगाउनका लागि समय पुग्ने भएपनि कार्यालय नआई घरमै बस्ने अवस्था नहुने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । तर मतपत्र छपाइमा संलग्न गरेका कर्मचारीले भने ३ दिन बिदा पाउनेछन् । आयोगले दसैँको समयावधि भित्र पनि निर्वाचन कार्यक्रमहरूको कार्यसूची यसअघि नै तयार गरेको थियो । असोज १५ गतेदेखि १९ गते अर्थात् टीकाको दिनसम्म निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका रहेको छ । यस्तै असोज २३ गतेदेखि तर्फ प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु हुनेछ । असोज १६ र १७ गते मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । 

असोज २३ गते प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष तर्फको मनोनयन दर्ता कार्यक्रमका लागि पनि तयारी गर्नुपर्ने भएका कारण पनि दसैँका बेला आयोग व्यस्त हुने भएको हो ।  यसैबीच आयोगले समानुपातिक प्रणाली तर्फको मतपत्र प्रकाशनको काम चरणमा पुर्‍याएको छ । हालसम्म १ करोडमाथि मतपत्र छपाई भइसकेको छ । असोज २३ गतेसम्म समानुपातिक तर्फको मतपत्र छपाइको काम सम्पन्न हुने प्रमुख आयुक्त थपलियाले जानकारी दिए । यस्तै असोज २८ गतेदेखि प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु गर्ने तयारी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस