यी ३२ क्षेत्रमा शेखर समूहको दाबी, देउवाले अरू पार्टीलाई दिए विद्रोहको चेतावनी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यी ३२ क्षेत्रमा शेखर समूहको दाबी, देउवाले अरू पार्टीलाई दिए विद्रोहको चेतावनी 


१२ आश्विन २०७९, बुधबार


काठमाडौँ। समानुपातिक निर्वाचनतर्फको बन्द सूचीमा आफ्नो समूहलाई पाखा लगाइएको र न्यायोचित व्यवहार पार्टी सभापति शेरबहादुर देउवाले गर्न नसकेको भन्दै पार्टी कार्यालयमा धर्ना दिएको कोइराला समूहले जनाएको छ ।

पार्टीमा एकलौटी शासन व्यवस्था सभापतिबाट लादिएको भन्दै शेखर समूह विरोधमा छ । 

पार्टीभित्रको आन्तरिक संरचना विस्तारमा मात्र होइन अन्तरपार्टी निर्वाचनमा पनि सभापति देउवाले एकलौटी गरेपछि प्रतिकारमा उत्रनुपरेको शेखर समूहको दाबी छ । 

समूहका नेता गुरुराज घिमिरे अन्यायको विरुद्ध लडेको बताउँछन् । उनी ६०-४० भागवण्डाका रचयिता तथा पार्टीमा भागवण्डाको सुरुवात गर्ने सभापति देउवा अर्को समूहलाई कमजोर बनाउन उद्धत भएको बताउँछन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा पूर्व र वर्तमान पदाधिकारीहरूको बैठक बसिरहँदा सानेपामा धर्ना भएको हो । धर्ना बस्ने अघिल्लो दिन अर्थात् मंगलबार पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशरण महतले पनि समानुपातिक सूची बुझाउँदा केही त्रुटि भएको स्वीकार गरेका थिए । उनले एकपक्षीय सूची बुझाएको आरोप झुटो भएको भन्दै आरोपको खण्डन गरेका थिए ।

शेखर समूहमा समानुपातिक जस्तै प्रत्यक्षतर्फको टिकटमा पनि एकलौटी हुने भय बढेको छ । 

११० जनाको समानुपातिक सूचीमा एक दर्जन मात्र नेताहरूको नाम समूहबाट परेजस्तै प्रत्यक्षमा पनि त्यस्तै नाजुक अवस्था आउने भय समूहमा हाबी भएको छ । 

समूहबाट डा.मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी साथै मन्त्रीसन्त्री बद्री पाण्डे केन्द्रीय सदस्य सरिता प्रसाईँ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द जस्ता नेताहरूले टिकट नपाउने भय छ । यी नेताहरूको सिटलाई सुरक्षित गर्न पनि समूह विद्रोहको मैदानमा उत्रिएको नेता जगदिश्वरनरसिंह केसी बताउँछन् । 

गठबन्धनको बैठक चलिरहँदा काँग्रेसले ८०-८५ सिटमा चित्त बुझाउने निश्चित भएको छ । तर, समूहले भने १०० सिट मुनि गठबन्धन गर्न नहुने अडान लिएको थियो । तर, पार्टी सभापति देउवाले गठबन्धन बैठकमा ८०-८५ सिटमा सहमति गरेपछि समूह रुष्ट छ । सिट बाँडफाँटको टुङ्गो नलागे पनि काँग्रेसले बढीमा ८५ सिट पाउने काँग्रेसभित्र आन्तरिक सर्कुलर छ ।

शेखर समूहले पनि ८० सिटको ४० प्रतिशत सिट आफ्नो समूहले पाउनुपर्ने दाबी गरिरहेको छ । अर्थात् समूहले ३२ सिट आफूहरुले पाउनुपर्ने माग गरेको छ । तर, शेखर निकट नेताहरू २७ सिट भए आफूहरू चुपचाप मान्न तयार भएको बताउँछन् । 

भनेजति सिट नपाए समूहका कुनै नेता पनि चुनाव नलड्ने ती नेताको दाबी छ । 

यो समूहबाट डा. शेखर कोइराला र महामन्त्री गगन थापा बाहेक कसैको पनि सिट सुरक्षित छैन । इलाम क्षेत्र नम्बर २ मा भेषराज आचार्यलाई टिकट दिनुपर्ने माग शेखर समूहको छ । यस्तै झापा २ मा पार्टी नेतृ सरिता प्रसाईंलाई टिकट दिन कोइराला समूहले लबिइङ गरिरहेको छ । तर, यो क्षेत्र माओवादीलाई दिइसकेका कारणले प्रसाईंको व्यवस्थापन पनि चुनौतीको विषय भएको छ । 

समूहबाट मोरङ क्षेत्र नम्बर १ मा डिकबहादुर लिम्बु, मोरङ २ मा डा। मीनेन्द्र रिजाललाई टिकट दिनुपर्ने शेखर समूहले अडान कसिरहेको छ । तर, यहाँ गिरिजा पुत्री सुजाता कोइराला चुनाव लड्ने दाउमा छन् । यस्तै ३ मा सुनिल शर्मालाई टिकट दिन शेखर कोइरालाले प्रयास गरिरहेका छन् । यस्तै क्षेत्र नम्बर ६ मा शेखर स्वयम् उम्मेदवार हुन् । 

शेखर समूहले सुनसरी क्षेत्र नम्बर १ मा राजीव कोइरालाले टिकट पाउनुपर्ने माग गरिरहेको छ । यस्तै सोलुखुम्बुमा बलबहादुर केसीले टिकट पाउनुपर्ने समूहको माग छ । 

मधेस प्रदेशमा शेखर समूहले सप्तरी ४ मा तेजुलाल चौधरीका पक्षमा लबिइङ गरिरहेको छ । चौधरी २०७४ सालको निर्वाचनबाट निर्वाचित सांसद हुन् । यस्तै सर्लाही क्षेत्र नम्बर ४ अमरेशकुमार सिंह तथा धनुषा क्षेत्र नम्बर २ मा रामकृष्ण यादवको टिकट खोसिन नहुने पक्षमा समूह छ । रामकृष्ण शेखर समूहबाट मन्त्रीसन्त्री लडेका नेता हुन् । प्रदेश २ मै शेखर समूहले महोत्तरीमा पनि टिकट मागिरहेको छ । महोत्तरी २ मा किरण यादवले टिकट पाउनुपर्ने माग शेखर समूहले गरिरहेको छ । 

वाग्मती प्रदेशतर्फ सिन्धुलीमा मोहन बराल, काभ्रे २ मा मधु आचार्य, नुवाकोट क्षेत्र नम्बर २ मा अर्जुननरसिंह केसीले टिकट नपाए विद्रोह हुने चेतावनी सो समूहको छ । समूहले धादिङ २ मा रामनाथ अधिकारी वा रमेश धमला तथा चितवन १ मा डा। स्वर्णिम वाग्लेलाई टिकट दिनुपर्ने अडान राखेको छ ।

गण्डकी प्रदेशमा शेखर समूहले उपसभापति धनराज गुरुङको सिटको ग्यारेन्टी माग गरेको छ । गुरुङ स्याङ्जा क्षेत्र नम्बर १ या २ कुनै पनि क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । यस्तै गोर्खा २ मा राजेन्द्र बजगाईँलाई पनि टिकट दिनुपर्ने अडान समूहको छ ।

ती नेताले बाह्रखरीलाई दिएको जानकारीअनुसार लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी २ चन्द्र भण्डारी,  रुपन्देही ४ मा प्रमोद यादवलाई टिकट मागिएको छ । यादवले २०७४ को निर्वाचन जितेका थिए । 

यस्तै वामदेव गौतमलाई हराएका सञ्जय गौतमलाई बर्दिया १ बाट टिकट दिनुपर्ने समूहको माग छ । यस्तै कर्णाली प्रदेशको सुर्खेत २ मा हृदयराम थानी तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा मन्त्रीसन्त्री बद्री पाण्डे, दार्चुलामा वर्तमान मन्त्री दिलेन्द्र बडू तथा बैतडीमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले टिकट पाउनुपर्ने माग शेखर समूहको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस