भीम रावलबारे केपी ओलीको चासो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भीम रावलबारे केपी ओलीको चासो


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता भीम रावलबारे चासो राखेका छन्। आफ्नो निवास बालकोटमा सोमबार पुगेका अछाम जिल्लासहित एमाले सुदूरपश्चिमका नेताहरूसँग ओलीले रावलको गतिविधिबारे चासो राखेका थिए।

ओलीले निर्वाचनमा भएको एकल सिफारिसबारे समेत चासो देखाएका थिए।

मंसिर ४ मा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र नम्बर १ बाट रावललाई मात्र सिफारिस गरेको थियो। उनी २०७४ मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी सोही क्षेत्रबाट २०५१ र २०७० सालमा समेत निर्वाचित भएका थिए। २०५६ सालमा भने रावल पराजित भएका थिए। २०६४ सालमा उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

पार्टीभित्रको अन्तर सङ्घर्षमा अन्तिम समयमा माधव नेपालको साथ छाडेका रावलले दसौँ महाधिवेशनमा एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका थिए। एमाले अध्यक्ष ओलीले पार्टी सल्लाहकारमा नियुक्त गरे पनि रावलले सो पद अस्वीकार गरेका छन्। आफ्नो दबाबलाई अस्वीकार गर्दै आफूविरूद्ध निर्वाचन लडेकोमा ओली रावलसँग आक्रोशित बनेका छन्।

ओलीलाई भेट्न एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम अध्यक्ष चन्द्र बोहोरा लगायत बालकोट पुगेका थिए।

एमाले केन्द्रीय सदस्य यज्ञ बोगटीले पार्टीभित्र छलफल चलिरहेकाले अहिले नै केही भन्न नसकिने बताए। निर्वाचनमा कसरी जाने र कसलाई उम्मेदवार बनाउने भनेर पार्टीले निर्णय गर्ने समेत उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस