विद्युतीय गाडीको यान्त्रिक परीक्षण गरिँदै, दसैँमा निःशुल्क सेवा पाइने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विद्युतीय गाडीको यान्त्रिक परीक्षण गरिँदै, दसैँमा निःशुल्क सेवा पाइने


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । लुम्बिनी विकास कोषले असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गर्ने भएको छ । मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभएपनि दसैँको उपलक्ष्यमा पाँच दिन चार्जिंङ स्टेसन र गाडीहरूको मेसिनरी परीक्षण स्वरूप यान्त्रिक परीक्षण गर्ने निर्णय गरेको हो ।

असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षण समेत हुनेगरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिए ।  

सचिवालय बैठकले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ । बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ । कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उडडयन तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाइएको थियो । कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोषले दसैँमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो ।

घटस्थापनाको समय गुज्रेपछि आलोचना बढ्नु स्वाभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई पत्रद्वारा हस्तान्तरण गरेपनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाइ भएको विज्ञप्तिमा उल्लेख छ ।

बस तथा भ्यानको तेस्रो पक्षको बिमा गरेपछि अफिसियल परीक्षण र परीक्षण सञ्चालन गरिने कोषले जनाएको छ ।

प्रधानमन्त्री कार्यालय, गृहमन्त्री बालकृष्ण खाँण, प्रदेश पर्यटन मन्त्रालयका मन्त्री डिल्लीबहादुर चौधरीको चासोलाई कोषले सकारात्मक रूपमा लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस