पूर्व अध्यक्ष रवीन्द्र मिश्रले छाडे विवेकशील साझा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पूर्व अध्यक्ष रवीन्द्र मिश्रले छाडे विवेकशील साझा


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै मिश्रले आफूले उठाउँदै आएको विषयलाई प्राप्त गर्न पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवेश गरेर काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताएका छन् ।

‘झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी(मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ । अन्ततोगत्वा सो प्रयासको पहिलो महत्त्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ,’ मिश्रले राजीनामा पत्रमा लेखेका छन्‚ ‘त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले आजकै मितिदेखि लागू हुने गरी मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

उनले विवेकशील साझा पार्टी छाड्ने निर्णय जीवनकै सबैभन्दा कठिनतम भएको बताउँदै दुई वटा ध्रुवको तीन वटा राजनीतिक दल मात्रै रहने दाबी गरेका छन् ।

‘नेपाली राजनीतिमा अब दुई ध्रुवमा, तीन वटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली काँग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुने छ,’ उनले भने‚ ‘यी दुईबिचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ । तर समय क्रममा त्यो कि साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस