पूर्व-पश्चिम रेल बनाउन सकिँदैन, ओलीले अध्ययनबिनै योजना बनाए : मन्त्री राई « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

पूर्व-पश्चिम रेल बनाउन सकिँदैन, ओलीले अध्ययनबिनै योजना बनाए : मन्त्री राई


१० आश्विन २०७९, सोमबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व-पश्चिम रेल बनाउन नसकिने बताएका छन् ।

सोमबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले केपी ओली सरकारले कुनै अध्ययन बिना रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाए ।

मन्त्री राईले अहिले नेपालमा सञ्चालनमा रहेको जनकपुर रेल घाटामा रहेको भन्दै पूर्व-पश्चिम रेल सञ्चालनले राज्यलाई फाइदा हुने पक्षको काम गर्नुपर्ने बताए । उनले पूर्व-पश्चिम रेल औचित्य र आवश्यकताको आधारमा बनाउनका लागि १२ खर्ब रुपैयाँ लागत लाग्ने दाबी गरे ।

मन्त्री राईले जग्गाको मुआब्जालगायत प्रत्येक वर्ष हुने मूल्य समायोजनको आधारमा रेल सञ्चालन गर्दासम्म २४ खर्ब रुपैयाँ लाग्ने बताए । उनले देशको बजेट चार खर्ब रहेको र बजेट कार्यान्वयन तीन खर्ब रहेकाले सरकारले आफ्नो लगानीमा रेल बनाउन नसक्ने स्पष्ट पारे ।

मन्त्री राईले कुनै विदेशी दातृ निकायले रेल पूर्वाधार बनाइदिने र सञ्चालन गरेको खण्डमा मात्र पूर्व-पश्चिम रेल प्राथमिकताका आधारमा बनाउन सकिने बताए । उनले देशको अहिलेको अवस्था र स्रोतको आधारमा पूर्व-पश्चिम रेल निर्माण गर्न सक्ने अवस्था नभएको स्पष्ट पारे ।

मन्त्री राईले सरकारले गर्ने विकास निर्माणको ठेक्का प्रक्रियाको काममा अदालतले असहयोग गरेको बताए । उनले सरकारले विकास निर्माण कार्यमा गरेका निर्णयलाई अदालतले स्टेअडरमार्फत रोक्ने काम गरेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस